Logo

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ प्रशासनले जिल्लामा इजाजत सहित लिइएका हतियारहरु बुझाउन आग्रह गरे पनि हालसम्म कसैले पनि हतियार नबुझाएको पाइएको छ । आगामी मसिरमा हुने निर्वाचनमा शान्ती सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम हतियार बुझाउन आग्रह गरेको हो ।
मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको हो । तर अहिलेसम्म एउटै पनि व्यक्तिले हतियार नबुझाएको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए । सर्वसाधरणले घरमा राखेका इजाजत पत्र प्राप्त हतियार नबुझाएपछि अब घरघरमै गएर हतियार संकलन गरिने प्रनाउ श्रीमलको भनाइ छ । निर्धारित मितिभित्र हतियार संकलन नभएमा जिल्ला प्रशासनमा भएको अद्यावधिक विवरण अनुसार घरघरमै प्रहरी पठाएर हतियार संकलन गरिने प्रनाउ श्रीमलले बताए ।
निर्वाचनलाई शान्तपूर्ण वातावरणमा सम्पन्न गर्न प्रशासनले जिल्लाका सम्वन्धित व्यक्तिहरुलाई कातिक ५ गते भित्र हतियार बुझाउन आग्रह गरेको थियो । निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण बनाउन हतियार खरखजाना ऐन २०१९ को दफा आठ बमोजिम सो जिल्लाका विभिन्न व्यक्तिहरुसँग ईजाजत सहित भएका हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको हो ।
जिल्लामा इजाजत प्राप्त हतियार लिएका व्यक्तिहरुले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । इजाजत प्राप्त व्यक्तिहरुले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजना अन्तर्गत कारवाहि गर्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा एक हजार भन्दा बढि हतियार दर्ता भएका छन् । विगतमा सामाजिक प्रतिष्ठा र सुरक्षाको आवश्यकतालाई आधार बनाएर हतियार राख्ने अनुमति दिने गरिएको थियो । हाल केहि समयका लागि हतियार प्रशासनलाई बुझाउन भने पनि निश्चित समयपछि फिर्ता गरिने प्रशासनले जनाएको छ ।
विभिन्न समूहले गर्ने निर्वाचन विरोधी गतिविधिहरुप्रति पूर्व सतर्कता अपनाउन समग्र जिल्लाको सुरक्षा व्यवस्था विशेष योजना सहित कडाई गरिने सुरक्षा समितिले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मतदाताले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरणको सिर्जना गर्न सुरक्षा समिति लागिपरेको प्रजिअ शुसील वैद्यले बताए ।

प्रतिक्रिया दिनुहोस्