Logo

तराईमा छठको रौनक

सूर्य भगवानको आराधना गरी मनाईने तराई क्षेत्रको मुख्य पर्व छठ सुरु भएसंगै तराई मधेशमा रौनक छाएको छ । चार दिन सम्म यो पर्व बिभिन्न बिधि पूरा गरी मनाईन्छ । पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सकिन्छ ।
छठ पर्वको पहिलो दिन शुक्रवार साँझ खीर खाएर बस्ने, दोश्रो दिन शनिबार पानी समेत नपिई दिनभर निराहार ब्रत बस्ने गरिन्छ । आईतवार साँझ नयाँ तथा चोखो कपडा लगाई नाङ्गो खुट्टामा घरबाट पूजा सामग्रीका साथ छठ पोखरीमा जाने र सूर्य अस्ताउने समयमा सूर्यको आराधना गरि अर्घ दिएर पूजा गरीन्छ । आईतबार रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई जल चढाउंदै पूजा गरेपछि छठ पूजा समाप्त हुन्छ ।
छठी माईको नाममा ब्रत र सूर्यको आराधना गरि तराईमा मनाईने छठ पर्व बिशेष गरी तराईको बिराटनगर, जनकपुर,बिरगन्ज,भैरहवा,नेपालगन्ज, झापा लगायतका स्थानमा धुमधाम साथ मनाईने गरिन्छ ।
तराईको अन्य स्थानका साथै रुपन्देहीको भैरहवा बुटवल र अन्य ग्रामिण क्षेत्रहरु बेथरी, बनगाई, धकधई,बेलहिया मर्चवार, लुम्बिनी लगायतका क्षेत्रमा धुमधामका साथ छठ मनाइँदैछ । भैरहवामा नेपाली सेनाको ब्यारेकमा अवस्थित छठमाई पोखरी र गल्लामण्डीमा श्रीरामजानकी हनुमान मन्दीर परीसरमा छठ पूजा पोखरीमा पूजा गर्नका लागी ब्यबस्था मिलाईएको छ ।
छठ पूजन समिति सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका वार्ड नंं. ५ स्थित सेनाको ब्यारेकमा रहेको पोखरीमा बिगत ६० बर्ष भन्दा लामो समय देखि निरन्तर छठ पूजा हुदै आएको छठ पुजन समारोह समितीका संयोजक आनन्द प्रसाद गुप्ताले बताए । यस बर्ष पनि भब्य पुर्बक मनाउने गरी सबै तयारी पूरा भएको छ । पोखरीको डिलमा पूजा गर्नेहरुले आएर बेदी बनाईसकेको र यसपटक यो पोखरीमा २ हजार पाँच सय भन्दा बढीले बेदी अगाडी सरिक भई पूजा गर्ने ब्यबस्था मिलाईएको बनाईएको गुप्ताले बताए । यो पोखरीमा पूजाका लागी परिवार सहित १५ हजार बढी उपस्थित हुने अपेक्षा आयोजकको छ ।
बिशेष गरि तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला बर्षहरुमा पहाडी मूलका महिलाहरुसमेत पूजाका लागि आउने क्रम बढेको र यस ले एक धर्म जातीले अर्को धर्म जाती को पर्व सस्कारलाई उच्च सम्मान दिदै एकताको सन्देश दिएको छ । गल्लामण्डी स्थीत श्रीराम जानकी हनुमान मन्दिर परीसरमा यो पटक समेत गरी सातौ पटक छठपूजा हुन लागेको र यहा २ सय भन्दा बढी बेदी पूजाका लागी निर्माण भएको र हजारौ उपस्थित भई श्रद्धापूर्बक छठ पूजा गर्ने श्रीराम जानकी हनुमान मन्दिर छठ पूजा समारोह समितिका अध्यक्ष नरेन्द्र रौनीयारले बताए । तराईबासी मात्र नभई पहाडी समुदायका महिलाहरु पनि पूजा गर्न र सहभागी हुन आउने हुदा यो एकताको पर्वका रुपमा लिन थालिएको छठपूजन समिती गल्लामण्डीका प्रमुख सल्लाहकार भैरब कलवारले बताए ।
छठका लागी भनेर रुपन्देहीमा पहिला देखिनै पूजा गरीदै आएको ताल,तलैया, खोला नालामा सरसफाई गरी सिंगार पटार गर्नुका साथै मण्डपहरु निर्माण कार्य सम्पन्न भैसकेका छन् । दशै तिहार जस्तै तराईवासीका लागि छठ पर्वले विशेष महत्व राख्ने गर्छ । छठ माता र सूर्यको पूजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ ।
छठमा गहँुको पिठोबाट बनाइएको ठेकुवा, पुडी, लड्डु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्रीराम जानकी हनुमान मन्दिर छठ पूजा स्थलमा रहेको पोखरी ।

बक्स
राजधानीमा पनि लोकप्रिय बन्दै
केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि हर्षोल्लासका साथ मनाउन लागिएको छ । काठमाडौँको रानीपोखरी, बागमती नदी, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा गरिन्छ । सरकारले छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा दिन्छ ।
दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।
सनातन धर्म महासंघ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रियका अध्यक्ष तथा जिल्ला ललितपुर हात्तीवन काठमाडाँै युनिभर्सिटी आर्टका प्राध्यापक डा निर्मलमणि अधिकारीका अनुसार सृष्टिको सुरूआतदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ ।
छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ ।

प्रतिक्रिया दिनुहोस्