Logo

सिटिजन्स बैंकको मेसिनमार्फत क्यास डिपोजिट सेवा सुरू

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना सेवाहरू डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरूवात गरेको छ ।
यस नवीनतम सेवामार्फत् अब ग्राहकले कुनै भौतिक फारम बिनानै सहज रूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवा अन्तर्गत ग्राहकले क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । सो सेवाबाट ग्राहकले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगाडि बढाएको र शसक्त ढंगले ग्राहकमैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाइएको बताएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्