सुदूरपश्चिममा हुलाकी सडक : अर्बौ लगानी, गति सुस्त

सुदूरपश्चिम प्रदेशमा निमार्णाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ ।
कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रूपले अघि बढन सकेको छैन । सुदूरपश्चिमको उक्त क्षेत्रमा हुलाकी सडक झण्डै ३० महिनायता निर्माणाधीन अवस्थामा छ ।
कैलालीमा लम्कीदेखि टीकापुरतर्फको पहिलो प्याकेज (८ किलोमिटर) सडक निर्माण कम्पनीले ६४ प्रतिशत भौतिक प्रगति गरे पनि खङ्ग्रौलासम्मको बाँकी दुई प्याकेजमा २५ देखि ३० प्रतिशतमात्रै काम भएको छ ।
वि.सं २०७७ जेठदेखि निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले कोरोना कहरका बेला काम गर्न नपाउँदा पनि निर्माणमा ढिलाइ हुन गएको बताएका छन् । लम्कीदेखि खङ्ग्रौला नाकासम्म साढे २९ किलोमिटर सडकमा अहिले पहिलो प्याकेजको एक किलोमिटर सडक कालोपत्रेको तयारी भइरहेको छ । हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इन्जिनियर दीपक सुनारले आयोजनाअन्तर्गत कैलाली र कञ्चनपुरमा सडक निर्माणको कामले गति लिन नसकेको बताए ।
“कोरोनाले गर्दा पनि काम प्रभावित हुँदा ढिलाइ भयो,” उनले भने, “कञ्चनपुरमा भइरहेको काम असारमा नसकिए निर्माण व्यवसायीलाई गाह्रो पर्ने स्थिति पनि हो ।” लम्कीदेखि दक्षिण टीकापुरतर्फको आठ किलोमिटर सडकलगायत संरचना निर्माणका लागि ४० करोड लागत छ ।
उनका अनुसार उक्त सडकको दोस्रो प्याकेज १० र अन्तिम प्याकेज साढे ११ किलोमिटर निर्माण गर्नुपर्नेछ । “दोस्रो प्याकेज ४१ करोड र तेस्रो ३३ करोडको हो,” उनले भने, “काम चलिरहेको भए पनि द्रुतगतिमा भने छैन ।” तीनवटै प्याकेजको समय भने आगामी मंसिरसम्म मात्र छ ।
त्यसैगरी धनगढी क्याम्पस रोडदेखि भजनीसम्मको ६२ किलोमिटर सडकमध्ये १८ किलोमिटर कालोपत्र भइसकेको सूचना अधिकृत सुनारले बताए । “सो सडकमा चार वटा प्याकेजमा ४४ किलोमिटर सडक निर्माण जारी छ,” सुनारले भने, “उक्त काम एक अर्ब ३० करोडको लगानीमा बन्दै छ ।” सो क्षेत्रमा निर्माणाधीन सडकको गति पनि सुस्त नै छ ।
त्यसैगरी कञ्चनपुरको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर खण्डमध्ये ३४ किलोमिटर कालोपत्र सकिएको छ । वि.सं २०७३ फागुनमा ३० महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक दोब्बर समय सकिँदा पनि करिब ५० प्रतिशत काम बाँकी छ । डोकेबजारदेखि बेलौरीसम्मको २० किलोमिटर, बेलौरीदेखि बेल्डाडीसम्को २० र बेल्डाडीदेखि दैजीसम्म २२ किलोमिटर सडक तीन प्याकेजमा काम भइरहेको छ ।
यहाँ पहिलो प्याकेजको काम सम्पन्न हुने चरणमा रहे पनि अरु दुई प्याकेजमा बाँकी छ । उनले भने, “कञ्चनपुरमा निर्माण व्यवसायीको ढिलासुस्तीले पनि काममा ढिलासुस्ती भयो ।” कञ्चनपुरमा निर्माणाधीन उक्त हुलाकी सडकको काम तीन प्याकेजमा गरी एक अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।
म्याग्दी–बागलुङ जोड्ने झोलुंगे पुल निर्माणकार्य अन्तिम चरणमा
गलेश्वर, ३१ असोज (रासस): म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३ सय ८८ मिटर लामो झोलुंगे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुंगे पुलको निर्माण सुरु गरेको हो ।
एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । तीन करोड लागतमा बन्ने सो पुल निर्माणको लागि भानीहिमशिखर जेभीले १० महिनामा पुल तयार गर्ने गरी गतवर्षको असोजमा सम्झौता गरेको थियो । सम्झौता मितिको करिब चार महिना ढिला गरी पुल निर्माण सम्पन्न हुने भएको हो । गतअसार मसान्तभित्र काम सक्ने गरी गत वर्षको ४ कात्तिकबाट पुल निर्माणको काम अगाडि बढेको थियो ।
रत्नेचौर, ज्यामरुककोट आसपासका क्षेत्रका बासिन्दाले सदरमुकाम बेनी बजारमा भन्दा बागलुङ बजारमा आर्थिक कारोबारलगायतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा झन सहज हुने अपेक्षा गरिएको बेनी नगरपालिका–१ रत्नेचौरका निवर्तमान वडाध्यक्ष टेकबहादुर रावलले बताए ।
पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्राम संग्रहालयको अवलोकन गर्न आउने धार्मिक पर्यटकलाई सुविधा पुग्नुका साथै रत्नेचौरको खेलमैदान, धौलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयवासीको भनाइ छ ।
पुलको कुल लागत तीन करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा–४ कँुडुले निवासी जयलाल सापकोटा, इन्द्रशर्मा र पशुपति सापकोटालगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका थिए । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिने स्थानीयवासी युवा विष्णु कार्की क्षेत्रीले बताए ।