Logo

निर्माण नसकिँदै दमक भ्यू टावरमा पर्यटकको घुइँचो

झापाको दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तलाको दमक भ्यू टावर निर्माण सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत दमक नगरपालिका–३ स्थित दापगाछीमा अन्तर्राष्ट्रियस्तरको २५ तलाको कंक्रिटले निर्माण गरिएको १८ तलाको भ्यू टावर निर्माण सम्पन्न भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट करिब दुई किलोमिटरमा कुल पाँच बिगाहा क्षेत्रफलमा बनेको दमक भ्यू टावर अन्तर्राष्ट्रियस्तरको हुने जनाइएको छ । दमक भ्यू टावरको १८ तलासम्म कंक्रिटले निर्माण गरिएको छ भने त्यसमाथि थप सात तलाको स्टिलको संरचना बनाइने बताइएको छ ।
भ्यू टावर निर्माण तथा रेखदेखको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर भुपेन्द्र यादवले भ्यू टावर निर्माणको कामसँगै आन्तरिक एसी, बत्ती, केवुल, सिलिङ, वेयरिङको कामसमेत एकै साथ भइरहेको बताए । उनले भने, “भ्यू टावरको डीपीआरअनुसार मुख्य भवनमा अण्डरग्राउण्ड पार्किङसहित विभिन्न आधुनिक सभ्यता सुहाँउदो आकर्षक साजसज्जाका साथ व्यवसाय सञ्चालन गरिने बताउँदै यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमतासहितको पार्किङस्थल रहेको र त्यहाँ ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाइल पार्किङ गर्न सकिने जानकारी दिए ।
भ्यू टावरको पहिलो तलादेखि चौथो तलासम्म विभिन्न खुद्रा पसल रहने, पाँचौ तलामा आधुनिक अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, छैटौंदेखि आठौँ तलासम्म बैँक वित्तीय संस्थाका कार्यालय तथा ठूला थोक व्यवसाय प्रयोजन हुने, नौ तलादेखि ११औं तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हल रहने, १२औंदेखि १५औं तलासम्म होटल, रेस्टुराँ, एण्ड बार सञ्चालन गरिने र १६औँ र १७आँै तलालाई भ्यू टेकको रूपमा (दृश्य अवलोकन गरिने जनाइएको छ । यसबाहेक विभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेस्टुराँ, भीआईपी कार्यालयलगायत हुनेछन् ।
दमक भ्यू टावरमात्र १० कट्ठा क्षेत्रफल बनेकोे छ भने बाँकी क्षेत्रमा बालउद्यान सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचासहितको पार्क निर्माण गरिने, कम्पाउण्डभित्र एउटा पानीको फोहोरा, पानीपोखरी निर्माण गरिने र पोखरीको वरिपरि आगन्तुकका लागि बस्ने प्रतिक्षालयसमेत निर्माण हुने बताइएको छ ।
भ्यू टावर निर्माणका लागि काठमाडौंको जेटसीजीआइजीसी आशिष ओम साईराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले निर्माण गरेको दमक भ्यू टावरको उचाइसँगै यो क्षेत्रको विकास र उचाइसमेत बढाएको छ । नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भ्यू टावरको १८औँ तला निर्माण भइसक्दा सञ्चालनमा आउनुअघि नै यस क्षेत्रमा विभिन्न स्थानबाट आउने पर्यटकको घुइँचो लाग्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्