योजना तर्जुमा गर्न सुझाव संकलन योजना तर्जुमा गर्न सुझाव संकलन «

योजना तर्जुमा गर्न सुझाव संकलन योजना तर्जुमा गर्न सुझाव संकलन

माण्डवी गाउँपालिका प्यूठानले प्रभावकारी योजना निर्माणका लागि सुझाव संकलन सुरु गरेको छ । शुक्रबार आर्थिक वर्ष २०७६÷७७ को योजना निर्माणका लागि सरोकारवाला निकायसँग पालिकाले सुझाव संकलन गरेको हो । 

आगामी आवमा सञ्चालन गरिने वार्षिक कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने उद्देश्यले सुझाव संकलन गरेको गाउँपालिकाले जनाएको छ । पालिकास्तरमा सञ्चालन गरिने योजना तर्जुमाका लागि सुझाव संकलन उपलब्धिमूलक बनेको पालिका अध्यक्ष श्रीधर रोकाले बताए । “धेरै रचनात्मक सुझाव प्राप्त भएका छन्,” अध्यक्ष रोकाले भने, “बस्ती वार्डसँगै सरोकारवाला पक्षबाट आएका सुझावलाई समेट्दै आगामी आवको बजेट कार्यक्रम तय गरिने छ ।” उत्पादन तथा स्वरोजगारमुखी बजेट तर्जुमा गर्न आफू लागिपरेको उनले बताए । “विकास निर्माणसँगै कृषि उत्पादन र स्वरोजगार सिर्जना गर्ने खालका गतिविधिलाई प्राथमिकतामा राखेका छौं,” उनले भने । कृषि, पर्यटन, पशुपालन, खानेपानी मोटरबाटो र रोजगारी उत्पादनका क्षेत्रमा पालिकाले लगानी गर्नुपर्ने सुझाव प्राप्त भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले बताए । “उल्लेखित क्षेत्रमा प्रभावकारी योजना र लगानी बढाउन सुझाव आएको छ,” उनले भने । कार्यक्रममा सुझाव राख्दै स्थानीय शिक्षक प्रदिप भण्डारीले समायानुकूल शिक्षा पद्धतिलाई विकास गर्नका लागि जोड दिनुपर्ने बताए । सम्भव भएका विद्यालयमा तत्काल अंग्रेजी माध्यमबाट पठनपाठनको सुरुवात गर्नुपर्ने उनले सुझाए ।  स्थानीय हेमराज अधिकारीले निर्माणाधीन अवस्थामा रहेका योजनालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । वडामा पठाउने बजेट सिलिङ कम भएको औल्याउँदै उनले त्यसमा वृद्धि हुनुपर्ने माग राखे ।

यस्तै कृषक नित्यानन्द आचार्यले किसान संरक्षण अभियान थालनी गर्नुपर्ने बताए । “उत्पादन गर्ने किसान भोकै बस्नु पर्ने बाध्यता छ । पालिकाले यस कुरालाई ध्यान देओस्,” उनले भने । बाल सञ्जालका कोषाध्यक्ष महेश अधिकारीले बालबालिकाका समस्यालाई बुझेर बजेट तथा कार्यक्रम तय गर्नुपर्ने माग गरे । स्थानीय राजनैतिक दलका प्रतिनिधि, विद्यालय शिक्षक, निजी क्षेत्र, संघसंस्था तथा सहकारीलगायतको सहभागितामा सुझाव संकलन गरिएको थियो । आगामी आवका लागि केन्द्र तथा प्रदेश सरकारबाट ७ करोड ४० लाख २५ हजार वित्तीय समानीकरण बजेट प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । 

 प्रज्वल पहाडी

प्रतिक्रिया दिनुहोस्