रुकुम पश्चिममा इन्टरनेट प्रयोगकर्ता बढ्दै

रुकुम पश्चिममा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ता बढेका छन् । प्रविधिकको तीव्र विकाससँगै स्मार्ट फोन प्रयोगकर्ता बढेसँगै इन्टरनेटको प्रयोग पनि बढेको हो ।
जिल्लामा हाल नेपाल टेलिकमको एडिएसएल सेवासँगै विभिन्न निजी सेवाप्रदायक कम्पनीले सेवा विस्तार गरेका छन् । जसका कारण पहिलेको तुलनामा पछिल्लो समय इन्टरनेट प्रयोगकर्तालाई पनि सहजता भएको खलंगाको सिटी इन्फोटेकका सञ्चालक कस्तुप नेपाली बताउँछन् ।
उनका अनुसार पहिलेको तुलनामा जिल्लामा इन्टरनेटको पहुँच राम्रो भएपनि विद्युत समस्याका कारण बेलाबेला जाने आउने समस्या भएको हुँदा सेवाप्रदायक कम्पनीले ब्याकअप विद्युतको पनि व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । जिल्लामा हाल सुविसु, वल्डलिंक, एभरेष्ट र टेकमाइन्डलगायतका इन्टरनेट सेवाप्रदायक कम्पनीले फाइबर इन्टरनेट सेवा दिँदै आएका छन् ।
सूचना प्रविधिको विकासले विकशित देशले फाइभजी समेत प्रयोगम ल्याइसकेका छन् । तर रुकुम पश्चिमका केही स्थानमा भने अझैपनि राम्रोसँग मोवाइल नेटवकले काम नगर्ने समस्या छ । बेलाबेला नेटवर्क जाने तथा कुरा स्पष्ट नसुनिने समस्या हटाउनका साथै उच्च गतिको मोवाइल डाटा सञ्चालन हुने गरी सरोकारवालाले काम गर्नुपर्ने रुकुम पश्चिम त्रिबेणी गाउँपालिकाका स्थानीय पाइराम ओली बताउँछन् ।
“सदरमुकाम तथा मुख्य बजारमा इन्टरनेटको पहुँच राम्रो छ, तर गाउँगाउँमा प्रयोग हुने मोवाइल डाटा त्यति प्रभावकारी छैन” उनले भने, “पछिल्लो समय नेपाली विदेशीने क्रम बढेसँगै घरपरिवारसँग भिडियो कुराकानी गर्नका लागि मोवाइल डाटा प्रभावकारी हुनुपर्छ ।” सूचना प्रविधिको प्रयोग सञ्चारकर्मीलाई सबैभन्दा बढी जरुरी छ । विश्वभर पहुँचका अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न अनिवार्य छ । स्थानीय तहहरु गठन भएपछि सञ्चारकर्मका कामहरु पनि स्थानीय स्तरबाट भइरहेको छ । इन्टरनेट सेवाका कारण गाउँगाउँबाट सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा ठूलो सहयोग पुगेको भएपनि थप गुणस्तर विकास गर्नुपर्ने आवश्यता रहेको नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष गोपाल रेग्मी बताउँछन् ।
नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमले पछिल्लो समय जिल्लामा टेलिफोन तथा इन्टरनेट नेटवर्कको पहुँच बढ्दै गएको बताएको छ । जिल्लाभर हाल १६ वटा टेलिफोन टावरमार्फत नेपाल टेलिकम रुकुम पश्चिमले फोन सेवा प्रदान गरिएको छ । नेपाल टेलिकम कार्यालय रुकुम पश्चिमका प्रमुख कृष्णप्रसाद शर्माका अनुसार हालै नयाँ टावरहरु पनि सञ्चालनमा आएका छन् । जिल्लामा नेपाल टेलिकममार्फत मोवाइल सेवाका लागि विभिन्न ठाउँमा टावर निर्माण गरेर सञ्चालन गरेपनि ल्याण्डलाइन, एडिएसएल तथा फाइवर नेटको माग उच्च भएपनि पूर्ति भने हुन सकेको छैन ।
जिल्ला सदरमुकाम खलंगासम्म टेलिकमको फाइवर इन्टरनेट विस्तारका लागि टेन्डर आह्वान भइसकेको भएपनि छिटोछरितो काम हुन नसकेको हो । ल्याण्डलाइन तथा इन्टरनेटको माग जिल्ला सदरमुकामसँगै स्थानीय तहका केन्द्रहरुमा रहेको छ । जिल्लामा भएको क्षमता अनुसार ल्याण्डलाइन र एडिएसएल वितरण गरिसकेको र बाँकी क्षेत्रमा विस्तारका लागि टेलिकमको केन्द्र तथा प्रदेश कार्यालयबाट क्षमता विस्तारका लागि पहल गर्नुपर्ने कार्यालयले जनाएको छ ।