भृकुटीमण्डपमा ५० थरीका रोटीको प्रदर्शन

काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।
तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर शाहले काठमाडौंको भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेलाको आयोजना गरेका हुन् । वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भएको छ । मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकाहरु प्रदर्शनमा राखिएका छन् । मेलाका आयोजक साहले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरुको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरिएको बताउनु भयो ।
उनले विभिन्न जातजाति अनुसारका रोटीहरुमा पर्यटन तथा ग्राहकहरुको आकर्षण देखेर रोटीको संरक्षणमा लागेको बताए । साहले पहिलो पटक रोटी मेला गर्दा २० परिकार भएपनि अहिले थपिएर ५० प्रकारका रोटी प्रदर्शनीमा राखिएको बताए । उनले नेपालमा १०० भन्दा बढी परिकारका रोटीहरु बनाउन सकिने सम्भावना रहेको दाबी गरे ।
रोटी मेला अवलोकन गर्न आउनेहरुले नेपाली रैथाले रोटीहरुको संरक्षण गर्न रोटी मेलाको आवश्यकता रहेको बताए । मेला अवलोकनकर्ता टंक तिमिल्सिनाले मेला राम्रो भएपनि खाने रोटीहरु गुणस्तर भए/नभएको सरकारी निकायले प्रमाणित गरेर प्रर्दशनी गर्नु राम्रो हुने बताए । त्यस्तै हरिप्रसाद अधिकारीले नेपाली विभिन्न जातजाति र ठाँउ अनुसारका रोटीका प्रकार एकै ठाउँमा देख्न र खान पाउनु राम्रो भएको प्रतिक्रिया दिए ।
पाँचौं रोटी मेलामा सेलरोटी, फिनिरोटी,रातो पुरी (नेवारी), दंगाली स्वारी रोटी, सेतो पुरी, भुने रोटी, अनरसा सेतो (दंगाली), कागती रोटी, निमकिन रोटी,अनरसा (नेवारी), रोट रोटी, अरसा रोटी, मधेसको मठरी, भक्काने रोटी, कोदोको सेलरोटी, शेर्पा रोटी रिकीकर, सिनकामरी, खुरमा लगायतका रोटीहरु राखिएका छन् ।