करोडौं लगानीमा बनाइएको पार्क अस्तव्यस्त

करोडौं रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित शहीद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ ।
संरक्षण र प्रवद्र्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरु दिनानुदिन जीर्ण हँुदै गइरहेका हुन् । पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सिमित भएको छ । वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा फैलिएको शहीद स्मृति पार्क’ अहिले झाडीले ढाकिएको छ । पार्कका घुम्ने स्थानमा जताजतै झाडी र फोहोर हुँदा अहिले पर्यटकको आवागमन पनि शुन्य बराबर छ । पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको सो पार्क पिकनिक खाने, घुम्ने पर्यटकहरुकोे लागि नभई लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुको लागि पनि एकछिन सुस्ताउने राम्रो गन्तव्य बन्ने प्रचुर सम्भावना थियो ।
त्यसैगरी चन्द्रपुरका स्थानीयहरुलाई मर्निङ वाक गर्न, बालबच्चा घुमाउन, हरियालीमा समय बिताउन पनि पार्क महत्वपूर्ण हुनसक्ने स्थानीय प्रह्लाद गौतम बताउ्रँछन् । जताजतै उम्रिएको घाँस र फोहरहरुले गर्दा पार्कमा जान कसैको रुचि नहुने गरेको भन्दै उनले स्थानीयहरु यसलाई जसरी पनि संरक्षण र प्रवद्र्धन गर्नुपर्ने माग गर्दै आइरहे पनि स्थानीय सरकारहरु मौन रहेको जनाए। उनले स्थानीय सरकारले विगत ५ वर्षमा पार्कका लागि जम्मा ५ लाख रुपैयाँ बजेट छुट्याएको पनि बताए।
सो पार्कमा हाल शहीद स्तम्भ, ४ वटा पोखरी, चिल्ड्रेन पार्क, चौतारा लगायतका संरचनाहरु रहेका छन् । पार्कभित्र रहेको पोखरी अहिले झाडीले पुरिएको छ । सो पोखरीलाई सफा गरेर माछा पालनसँगै डुङ्गा सञ्चालन गर्नसके पर्यटकको आकर्षण बढ्नसक्ने स्थानीय बताउँछन् । निमार्ण अवधिदेखि नै पार्कको स्वामित्वमा विवाद आइरहेको छ । सो पार्कको व्यवस्थापन हाल शहीद स्मृति पार्क व्यवस्थापन समितिले गर्दै आइरहेको छ । तर वनटोल महिला सामुदायिक वन उपभोक्ता समूहले भने आफ्नो वन क्षेत्रमा पर्ने भएकाले आफूहरुको त्यसमा निर्विवाद स्वामित्व हुनुपर्ने दाबी गर्छन् । उनले पार्क वन क्षेत्रमा पर्ने भएकाले सामुदायिक वनको स्वामित्व हुनुपर्ने बताउँछन् ।
कोरोनाकालमा सो पार्कमा रहेका संरचनाहरुलाई थपघट गरेर आइसोलेसन निमार्ग गरिएको थियो । पार्कमा सुरुवाती लगानी बाहेक हालसम्म राज्यका कुनकुन निकायको के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्याङ्क पनि कसैसँग पनि छैन । केही व्यक्ति र समूहले सो पार्क देखाएर बजेट ल्याउने र खाने भाडो बनाउने माध्यम बनेको स्थानीयको आरोप छ । यता स्थानीय सरकार भने स्वामित्वको विवादले गर्दा आफूहरुले त्यसमा चाहेर पनि केही गर्न नसकेको बाध्यता रहेको बताउँछ । चन्द्रपुर २ का अध्यक्ष दुक्तबहादुर थिङ पार्क कसको स्वामित्वमा रहने भन्ने विवादका कारण कुनैपनि काम हुन नसकेको बताउँछन्।
बढ्दोे शहरीकरणसँगै चन्द्रनिगाहपुर आसपासमा बिस्तारै खुला हरियाली स्थानको कमी हुँदै गइरहेको छ । राज्यको करौडौं लगानी भइसकेको पार्कलाई व्यवस्थित ढंगले सञ्चालन गर्नसके पर्यटकीय स्थलसँगै चन्द्रनिगाहपुरवासीको लागि खुला स्थलको उत्तम विकल्प पनि बन्नसक्ने देखिन्छ । यसको लागि सरोकारवाला सबैको ध्यान जानु अत्यावश्यक देखिएको छ ।