Logo

गोदावरी पुष्प मेलामा विदेशी फूलकै वर्चस्व

ललितपुरको जावलाखेल खेल मैदानमा गरिएको १५औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा विदेशबाट आायातित फूललाई बढी प्राथमिकता दिइ प्रदर्शनीमा राखिएको अवलोकनकर्ताले गुनासो गरेका छन् ।
३ कात्तिकबाट सुरु भएर आइतबार सकिएको प्रदर्शनीमा विदेशबाट ल्याइएका फूलहरु बढी प्रदर्शनीमा राखिएको अवलोकनकर्ताले गुनासो गरेका छन् । काठमाडौंका सबै नर्सरी एकै स्थानमा भएर अवलोकनका लागि र फूल किन्नका लागि छान्न पाएपनि यसवर्ष विगतको तुलनामा ३० प्रतिशत भन्दा धेरै फूलको मूल्य महंगो रहेको उपभोक्ताको गुनासो छ ।
दक्षिणकालीबाट मेला अवलोकनका लागि आएका राजाराम पौडेलले फूलसम्बन्धी मेला राख्नु राम्रो भएपनि नेपालमै उत्पादन भएका फूलहरु भन्दा विदेशबाट आयात गरिएका फूलहरुको मेलामा धेरै भेटिएको बताए । उनले फूलमा आत्मनिर्भर बन्नका लागि सरकारले हरेक गाउँगाउँमा गएर अध्ययन गरी स्थान उचित फूलको उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए ।
“फूलसम्बन्धी मेला राख्नु राम्रो हो तर धेरैजसो विदेशबाट आयात गरेको फूलहरु देखियो । नगरपालिकाहरु कुन बिरुवालाई प्रोत्साहन गर्न सकिन्छ त्यसको अध्ययन भएर, नेपालकै बीउलाई प्रोत्साहन गर्ने हो भने गाउँगाउँमा गएर सरकारले अध्ययन गर्न जरुरी छ” उनले भने ।
अर्का अवलोकन कर्ता जीवन श्रेष्ठले मेलामा पूरै काठमाडौंका नर्सरीहरुको अवलोकन गर्न सकिने भएकाले राम्रो लागेको बताए । उनले मेलामा विदेशबाट आयात गरिएका महंगा फूलहरु पनि राखिएको बताए । उनले विगतको तुलनामा यसवर्ष २५/३० प्रतिशत भन्दा बढी फूलको बजार महंगी रहेको बताए । गत वर्ष ५ सय रुपैयाँमा पाउने फूल यस वर्ष हजार रुपैयाँसम्म परेको उनको भनाइ छ ।
यता, व्यवसायीहरु भने पहिलाको तुलनामा यस वर्ष फूलको व्यापार धेरै नै भएको बताउँछन् । ओम नर्सरीकी पुष्पा घिमिरे पहिलाको तुलनामा यस वर्ष धेरै बिक्री भएको बताउँछन् । उनले नेपालमै फूलमा आत्मनिर्भर बन्न प्रविधिको आवश्यक रहेको त्यसमा सरकारले सहयोग गर्नुपर्ने बर्ता । व्यवसायी सुमन महर्जन अहिले पुष्प व्यवसायमा गुणस्तरमा प्रतिष्पर्धा भन्दा पनि मूल्यमा धेरै प्रतिष्पर्धा भइरहेको बताए ।
फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । तिहारको (पाँच दिन) मा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिब साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्