सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका «

सिँचाइ क्षेत्र विस्तार गर्दै माडी नगरपालिका

चितवनको माडी नगरपालिकाले सिँचाइ क्षेत्र विस्तार गर्ने भएको छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको माडी नगरपालिकाले यस आर्थिक वर्षमा पनि बोरिङमार्फत किसानका खेतखेतमा पानी पुर्‍याउने भएको हो । 
माडी नगरपालिकाको कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायका अनुसार साविकका कुलो मासिँदै गएपछि नगरपालिका पछिल्लो चार वर्षयता बोरिङ निर्माणमा केन्द्रित भएको छ । चार वर्षको अवधिमा माडी नगरपालिकाभित्र सात सय डिप र स्यालो बोरिङ जडान गरिएको उहाँले बताउनुभयो । जसमा पाँच सय स्यालो, दुई मझौला र डिप बोरिङ जडान गरिएको छ । 
माडी नगरपालिकामा ६५ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको उपाध्यायले जानकारी दिए । “जहाँ कुलो र ट्युबवेल छैनन् त्यहाँ मोटरका माध्यमबाट लिफ्ट सिचाइँको व्यवस्था गर्ने तयारीमा छौँ”, उनले भने, “वडा कार्यालयले पनि सिँचाइलाई नियमित कार्यक्रममा राखेका छन् ।” यस्तै बोरिङ जोडेको ठाउँबाट किसानको खेतका गरागरामा पानी पुर्‍याउन पाइप जडानका लागि नगरपालिकाले यस वर्ष बजेट विनियोजन गरेको छ । 
माडीमा चार हजार ५०० हेक्टर जमिनमा खेती भइरहेको छ । जसमा यस वर्ष चार हजार हेक्टर जमिनमा धानखेती गरिएको छ । तीन वर्षअघि सात सय बिघामा धानखेती हुँदै आएको माडीमा सिँचाइको सुविधा भएपछि अहिले २२ सय बिघामा धान लगाइएको माडी नगरपालिकाले जनाएको छ । 
सिँचाइका कारण पछिल्लो समय माडी नगरपालिकामा व्यावसायिकरुपमा तरकारीखेती गर्ने पनि बढेका छन् । माडीमा खोलाका किनार र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका जमिन भने अझै पनि बाँझो छन् । 
नगरपालिकाले पूर्ण सिञ्चित माडी अभियानका साथ सिँचाइका कार्यक्रम सञ्चालन गरिरहेको माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । 
ठूला सिँचाइका कार्यक्रम संघ र प्रदेशसँग समन्वय गरेर सञ्चालन भइरहेका छन् भने साना सिँचाइका कार्यक्रम नगरपालिका आफैँ गरिरहेको छ । किसानले दिएको निवेदनका आधारमा जग्गा क्षेत्रफल छुट्याएर सिँचाइका लागि बोरिङ उपलब्ध गराइएको प्रमुख महतोले बताइन् । 
“सिँचाइ गर्न कुलोबाट पानी ल्याउने परम्परा हराउँदै गएको छ”, उनले भनिन्, “नागरिकलाई सहजता चाहिएको छ, आफ्नै खेतमा भनेको समयमा पानी पाइने भएका कारण बोरिङ जडानमा किसानको आकर्षण बढेको छ ।” 


कमल गाउँपालिकाका किसानलाई मल अभाव 
झापा, ६ कात्तिक (रासस): कमल गाउँपालिका–४ की तनुजा कार्कीलाई आलु रोप्न मलको अभाव नभए पनि ढुक्क हुनुहुन्छ । उनले विगतदेखि नै एक बिघा जमिनमा व्यावसायिकरुपले आलु खेती गर्दै आएका छन् । 
मल अभावमा विगतमा  पनि समयमै आलु रोप्न नपाउनुभएकी उनले यस वर्ष भने बेलैमा आलु रोप्न सुरु गरेका हुन् । 
तनुजा आफैँले र गाउँपालिकाले उत्पादन गरेको जैविक तथा प्राङ्गरिक मलका कारण पनि दसैँअघि नै धान काटेर खेतमा आलुको खेती लगाउन सजिलो भएको हो ।“रासायिक मल नपाउँदा कुनै बाली समयमै लगाउन पाइदैँन थियो”, उनले भने, “अहिले आफैंँ पनि मल बनाउँछौँं अपुगमा पालिकाले नि:शुल्क दिन्छ समयमै जुनसुकै बाली लगाउन पनि सजिलो भएको छ ।” 
किसानले बाली लगाउने याममा रासायनिक मल अभाव हुन थालेपछि उक्त गाउँपालिकाले विकल्पको रुपमा प्राङ्गरिक तथा जैविक मल उत्पादन गर्दै आएको हो । विगत तीन वर्षदेखि उक्त पालिकाले आफ्नै लगानीमा जैविक तथा प्राङ्गरिक र युरिया मल उत्पादन गर्दै आएको छ ।
पालिकाले प्राविधिक र स्थानीय स्रोत तथा साधनमार्फत उत्पादन गरेको मल अगुवा तथा व्यावसायिक किसानलाई नि:शुल्क वितरण गर्दै आएको पालिकका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिनुभयो । रासायनिक मल सधैँ हाहाकार हुने र यसले माटो एवं पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय स्रोत साधन प्रयोग गरी जैविक मल उत्पादन गरिएको उनले बताए । “रासायनिक मलको चरम अभाव छ”, उनले भने, “आवश्यक परेको बेला सहजै पाउने र किसानका लागि भरपर्दो पनि भएकाले अब जैविक तथा प्राङ्गरिक मल नै प्रयोग गर्ने हो ।” गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारिक, युरिया र झोल मल तहरास्थित क्षेत्रीय निर्देशनालयले समेत परीक्षण गरी उत्कृष्ट र उपयोगी ठहर गरेको शाखा प्रमुख बोहोराको  भनाइ छ । 
पालिकाले आफूले मात्र जैविक तथा प्राङ्गरिक मल उत्पादन नगरेर सहकारी, अगुवा किसान र कृषि फार्मलाई समेत तालिम प्रदान गर्दै आएको छ । पालिकाले दिएको तालिमबाट अधिकांश किसानले आफैँं पनि मल बनाउन थालेको कमल गाउँपालिका–३ का अगुवा किसान  कमल राजवंशीले बताए ।
“अहिले मल पाएनौँ भनेर कसैसँग गुनासो गर्नुपर्दैन,” उनले भने, “आफ्ना खेतीका लागि चाहिने मल आफैं बनाइन्छ ।” पालिकाले रासायनिक मलको विकल्पको रुपमा सुरु गरेको जैविक तथा प्राङ्गरिक मल उत्पादनमा प्रदेश सरकारले समेत सहयोग गर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्