भूकम्पका बेला खरिद गरिएका जस्तापाता बिक्री खुला «

भूकम्पका बेला खरिद गरिएका जस्तापाता बिक्री खुला

साल्ट ट्रेडिङ कर्पाेरेसनले भूकम्पका बेला खरिद गरेका जस्तापाता बिक्री गर्न टेन्डर आह्वान गरेको छ । सरकारले जस्तापाता बिक्री गर्न स्वीकृत दिएपछि कर्पाेरेसनले ३० दिने सूचना सार्वजनिक गरेर बिक्री खुला गरेको हो । लामो समय बिक्री नभई गोदाममा थन्किएपछि अहिले आएर बजार मूल्यअनुसार बिक्री गर्न कर्पाेरेसनले सूचना सार्वजनिक गरेको हो ।
कर्पाेरेसनका प्रवक्ता कुमारराज राजभण्डारीले जस्तापाता बिक्रीका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए । “३० दिने टेन्डर आह्वान गरेर बिक्री खुला गरेका छौं,” उनले भने, “खरिदकर्ता जसबाट सबैभन्दा धेरै मूल्य आउँछ सोहीअनुसार बिक्री मूल्य निर्धारण गर्छौं ।”
सरकारको निर्देशनमा भूकम्प गएलगत्तै कर्पाेरेसनले ३० करोड रुपैयाँबराबरका ५० हजार बन्डल जस्तापाता खरिद गरेको थियो । सार्वजनिक भवन, विद्यालय, स्वास्थ्यचौकी निर्माणका लागि आवश्यक भनि मन्त्रिपरिषद्ले कर्पोरेसनलाई जस्तापाता खरिद गर्न निर्देशन दिएको थियो । तर, सरकारी निकायले प्रयोग नगरेपछि दुई वर्षदेखि ती जस्तापाता गोदाममै थन्किएका थिए । लामो समयपछि सरकारले जस्तापाता प्रयोग नगरेपछि कर्पाेरेसनले पटक–पटक बिक्री खुला गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । भूकम्पपछि खरिद गरेको जस्तापाता बिक्री गर्न कर्पोरेसनले २ वर्षपछि अएर बिक्रीका लागि स्वीकृति पाएको थियो । सोहीअनुसार बिक्रीका लागि टेन्डर आह्वान गरिएको कर्पाेरेसनले जानकारी दिएको छ । कर्पाेरेसनले जिन्दल (ईण्डिया लिमिटेड) वेष्ट बंगाल, भारतबाट ५० हजार बन्डल जस्तापाता खरिद गरी आयात गरेको थियो ।
कर्पोरेसनले ल्याएका जस्तापाता उच्च गुणस्तरका छन् । बजार मूल्यभन्दा महँगो भएको र बिक्री गर्ने अनुमति नपाउँदा लामो समयदेखि गोदाममा थुपारिएको थियो । कर्पाेरेसनको पर्सास्थित वीरगन्ज तथा काठमाडौको सतुंगल कार्यालयमा ती जस्तापाता राखिएका छन् । अब ती जस्तापाता बजारमूल्यमा नै बिक्री गर्ने गरी सरकारले स्वीकृति दिएको छ । कर्पाेरेसनले २०७२ साल जेठको चौथो हप्तामा मन्त्रिपरिषद्को निर्णयअनुसार ३० करोड रुपैयाँमा ५० हजार बन्डल जस्तापाता भारतबाट आयात गरेको थियो ।
सरकारको स्वीकृतिपछि साल्ट ट्रेडिङले घाटा सहेरै भए पनि बिक्री गर्न लागेको हो । जस्तापाता खरिद गरिएको रकमको ब्याज नै ७ करोड रुपैयाँ पुगेको कर्पोरेसनले जनाएको छ । कर्पाेरेसनले जस्तापाता खरिदबापतको ब्याज रकम उपलब्ध गराउन आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्राचार गरेको छ ।
आपूर्ति मन्त्रालयका अनुसार कर्पोरेसनले खरिद गरेको जस्तापाताको खरिद र बिक्री मूल्यमा हुने फरकका कारण पर्ने नोक्सान रकम ब्यहोर्न अर्थ मन्त्रालय सहमत भएको छ । कर्पोरेसनलाई आपूmले जस्तापाता बिक्री गर्न सहमति दिइसकेको र महँगोमा खरिद गरिएको जस्तापाता सस्तोमा विक्री गर्दा हुने घाटा रकम बेहोर्न अर्थ मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको आपूर्ति मन्त्रालय जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्