विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै «
Logo

विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाइँदै

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ ।
त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उनको भनाइ छ । स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजनाअनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रूपमा अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको उल्लेख गर्दै उनले पर्यटन नै नेपालको आर्थिक विकासको दिगो स्रोत भएको र कोभिड–१९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि सारेको बताए ।
काठमाडौंको छाउनीस्थित बाहिटी संगमटोल सुधार समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौंँ निर्वाचन क्षेत्र नं ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमुनास्थल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको पुनर्निर्माण, संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्क निर्माण, सडक पुल, झोलुंगे पुल तथा आकाशे पुल निर्माणतर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेको उनले बताए ।
बेनीमा सडक अतिक्रमण हटाउन थालियो
म्याग्दी, ६ कात्तिक (रासस): म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो । नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताए । संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गरेका थिए ।
सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ । दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताए । व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफै हटाउने बताएको छ ।
यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ । बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन् । बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालिगण्डकी र म्याग्दी नदीको किनारैकिनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ ।
साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्