प्लास्टिकका माला उपयोग नगर्न फ्यानको आग्रह

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा १ सय ७८ हेक्टर जमिनमा व्यावसायिक पूmलखेती हुने गरेको छ । हाल नेपालका ४४ जिल्लामा व्यावसायिक पूmलखेती भइरहेको छ । यस वर्षको भाइटीकामा विभिन्न थरीका १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ । यस वर्षको भाइटीका कात्तिक १० गते परेको छ ।
यस वर्ष सरकारले तिहारमा पूmल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाई राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो । “किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लास्टिकका माला प्रयोग गरेपछि आमकिसान मर्कामा पर्ने भएकाले प्लास्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौं,” फ्यानका महासचिव विश्वमणि पोखरेलले भने ।
प्राय: तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरेको थियो । नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले ११ करोडको फूल आयात गरेको थियो । गत वर्षको तिहारमा भारतबाट झन्डै तीन लाखवटा माला आयात भएको थियो । तर यस वर्ष समयमा नै वर्षा भएकाले फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ ।
नेपालमा व्यावसायिक पूmलखेती सुरुवात भएको २५ वर्ष पुगिसकेको छ । वि.सं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट आर्थिक वर्ष २०७९/०८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा लाभान्वित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षाअनुसार लगानी बढ्न नसकेको बताउँछन् । नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ ।
“पुष्प क्षेत्रको लगानीबाट राम्रो प्रतिफूल लिन सकिन्छ । विश्वमा नेपाली फूल ‘हिमालयन फ्लावर’ का नाममा बिक्री हुनसक्छ । तर बृहत् लगानी हुन सकेका छैनन् । ठूला लगानी भित्र्याउन सरकारले नीतिगत सुधारमा ध्यान पुर्याउनुपर्छ,” अध्यक्ष गोल्छाले भने ।
धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ । फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ ।
नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ । नेपालले पूmल निर्यात गर्नसक्ने सम्भावना रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिए ।
फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ । यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । कृषि विभागका उपमहानिर्देशक डा. हरिबहादुर केसीले सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको बताए ।
वनस्पति विभागका महानिर्देशक डा. राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिइन् ।
फ्यानका अध्यक्ष मीनबहादुर तामाङले संघीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गरे । उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गरी लागू गर्नुपर्ने बताए । पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ । नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु
भरतपुर, ६ कात्तिक (रासस): चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आइतबार आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेशस्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा. कोपिला अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दु:खाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्नेलगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत् भइरहेको अधिकारीले जानकारी दिइन् ।
केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ । केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो । केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुन: कार्यालयमा आएर समापन भएको थियो ।
प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए । दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पुजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ । वन जंगलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ ।
धन्वन्तरिको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । वि.सं १९८५ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।