खानेपानीमा सहयोग बढाउन विश्व बैंक तयार «

खानेपानीमा सहयोग बढाउन विश्व बैंक तयार

विश्व बैंकले नेपालको खानेपानी क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गराउन सधंै तयार रहने जनाएको छ । खानेपानी मन्त्री विना मगरसँग सिंहदरबारमा भएको छलफलमा विश्व बैंकको प्रतिनिधिमण्डलले खानेपानीको क्षेत्रमा सहयोग बढाउन विश्व बैंक सधैं तयार रहेको जनाएको हो ।
नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फारिस हदाद जर्वोसले खानेपानीको क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्न विश्व बैंक सधैं सहयोग गर्न तयार रहेको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच आयोजनालाई अगाडि बढाउने दिशामा समन्वय भएर जान सके अझ राम्रो हुने उनको भनाइ थियो ।
खानेपानीमन्त्री मगरले खानेपानीका नयाँ योजनामा थप सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेकी थिइन् । सबै जनतालाई ३ वर्षभित्र आधारभूतस्तरको खानेपानी पु¥याउनका लागि विश्व बैंकलाई निरन्तर सहयोग गर्न उनले आग्रह गरिने ।
मन्त्री मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शतप्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी सेवा पु¥याउने सरकारको लक्ष्य रहेको उनले जानकारी दिइन् । शतप्रतिशत जनसंख्यालाई आधारभूत खानेपानीको सेवा पु¥याउन थप लगानी चाहिने उनको भनाइ थियो ।
ग्रामीण भेगका जनताले अझै पनि घटाै लगाएर पानी लिन जानुपर्ने स्थिति रहेको भन्दै उनले ग्रामीण क्षेत्रमा खानेपानीको समस्या समाधान गर्न विश्व बैंकको सहयोग महत्वपूर्ण हुने बताइन् । मन्त्रालय मातहत रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) लाई अझ सशक्त बनाएर लैजान चाहेको उनको भनाइ थियो ।
मन्त्री मगरले पहुँचका आधारमा योजना छनोट नगरी सबै क्षेत्रमा समानरूपले योजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने तयारीमा मन्त्रालय रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्