Logo

ऋषि सुनक बेलायतका प्रधानमन्त्री

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
मंगलबार राजा चार्ल्स तृतीयले कन्जरभेटिभ सांसद सुनकलाई बेलायतका प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि राजा चार्ल्स तृतीयले आमन्त्रण गरेका थिए । बेलायतको प्रधानमन्त्री नियुक्त भएपछि सुनकले आफू हरेक तहमा इमान्दार, व्यावसायिक तथा जवाफदेहि हुने बताए ।
बितेका दुई शताब्दीमा ४२ वर्षको उमेरमा बेलायतको प्रधानमन्त्री हुने सुनक पहिलो व्यक्ति हुन् । सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायतका प्रधानमन्त्री भएका थिए। बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्रीको रेकर्ड विलियम पिटका नाममा छ । उनी २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए ।
बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा गरेपछि प्रतिस्पर्धामा रहेका सुनक नेतृत्वमा आएका हुन् ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा ऋषि सुनकलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार ट्विटरमार्फत सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल(बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्