सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले मुलुकभित्रै दक्ष जनशक्ति उत्पादन गर्न सीप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडी बढाएको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री कुँवरले देशमा विधमान बेरोजगार युवा जनशक्तिलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसर श्रृजना गर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडी बढाएको बताए ।
उनले दक्ष जनशक्ति उत्पादन गर्नका लागि तयार पारिएको गठन आदेश मन्त्रीपरिषद्मा विचाराधिन अवस्थामा रहेको बताए । गठन आदेश पारित भएसँगै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापनाको प्रकिया अगाडी बढ्ने उनले बताए ।
“सरकारले अहिले नीति के लिएको छ भने जतिसक्दो दक्ष जनशक्ति उत्पादन गर्ने, चाहे स्वदेशमा होस्, चाहे वैदेशिक रोजगारीमा पठाउँदा होस्, हामीले दक्ष जनशक्ति उत्पादन गर्नको लागि हामीले सीप विकास प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाएका छौं” उनले भने, “त्यसका लागि गठन आदेश मन्त्रिपरिषद्मा अहिले विचाराधीन छ । त्यो पारित हुने बित्तिकै सातै प्रदेशमा सीप विकास प्रतिष्ठान स्थापना हुन्छ ।”
मन्त्री कुँवरले अनौपचारी क्षेत्र र वैदेशीक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउने अन्तिम तयारी भएको बताए । उनले अनौपचारी क्षेत्र र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषअन्तर्गत ल्याउने गरी दुईवटा कार्यविधि तयारी भइ छलफलको क्रममा रहेको र केही समय भित्रै कार्यान्वयनमा आउने बताए ।
उनले जर्मनसँग श्रम समझौता गर्ने तयारी अवस्थामा रहेको पनि जानकारी दिए । नेपालका श्रमीकहरुले सम्मानजनक पारिश्रमिक पाउन् भन्नका लागि जर्मन, बेलायत, हंगेरी लगायतका देशसँग श्रम समझौता गर्ने तयारी गरेको उनको भनाइ छ ।