Logo

गोदावरी फूल प्रदर्शनी ३ कात्तिकदेखि

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फयान) ले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १५औं प्रतियोगितात्मक प्रदर्शनी २०७९ गर्ने भएको छ ।
नजिकिएको तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी आयोजना गर्न लागिएको हो । फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप मेला आयोजना गर्न लागिएको मेला संयोजक सिताराम पन्तले बताए ।
उक्त प्रदर्शनी ३ देखि ६ कात्तिकसम्म रहने छ । चार दिनसम्म जावलाखेलको खेलमैदान ललितपुरमा मेला सञ्चालन हुने मेलामा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक चार गरी ५५ स्टल रहने छन् ।
तिहारमा २० लाख सयपत्री, मखमली तीन लाख र गोदावरीको २५ हजारसम्म माला खपत हुने फयानका अध्यक्ष मीनबहादुर तामाङले बताए । नेपाल ९० देखि ९१ प्रतिशत फूलमा आत्मनिर्भर रहेको पनि उनको दाबी छ । कोरोनाका कारण फूल उत्पादन घटे पनि हाल १० देखि २० प्रतिशत फूलको माग बढ्नुका साथै उत्पादन पनि बढेको उनको भनाइ छ ।
प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा १० मिनियचर, २० स्पाइडर, ३० रिफ्लेक्स, ४० इन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाति छन् ।

प्रतिक्रिया दिनुहोस्