किसानले स्वस्फूत तोके सयपत्री मालाको मूल्य

चितवनका किसानहरुले फूल मूल्य तोकेका छन् । वर्षेनि तिहारमा सयपत्री मालाको मूल्य मनलाग्दी हुन थालेपछि किसानहरुले मूल्य निर्धारण गरेका हुन् । भरतपुरमा पत्रकार सम्मेलन गर्दै व्यवसायीक रुपमा सयपत्री फूल खेती गर्दै आएका किसानले १ सय रुपैयाँ भन्दा कम मूल्यमै माला पाइने बताएका छन् ।
फ्लोरिकल्चर एशोसियसन चितवनका कोषाध्यक्षले १ सय रुपैयाँ भन्दा बढी मूल्य उपभोक्ताले तिर्न नपर्ने बताए । “यसपाली तिहारमा १ सय बढी तिर्नुपर्दैन”, उनले भने, “८० देखि १ सय रुपैयाँसम्म खुद्रा बिक्री हुनेछ ।” उनका अनुसार किसानहरुसँग सल्लाह गरेर ५० देखि ५५ रुपैयाँ होलसेल मूल्य कायम गरिएको छ । चाडबाडका बेला उपभोक्ता ठगिने गुनासो आएपछि किसान र एशोसियसनको पहलमा पहिलो पटक मूल्य तोकिएको हो ।
“जहाँबाट माला खरिद गरेपनि ठगिनुपर्दैन”, उनले भने, “बजारमा एकरुपता ल्याउन मूल्य तोकेका हौैं ।” चितवनका बजारमा गतवर्ष ५० रुपैयाँमा भारतीय मालाहरु किन्न सकिन्थ्यो भने कोभिड महामारीका बेला मालाको मूल्य झण्डै ३ सय हाराहारी पुगेको थियो । चितवनमा यसपाली तिहारमा मात्रै करिब ५ लाख माला खपत हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यसपाली २० प्रतिशत उत्पादन बढेको एशोसियसनको अनुमान छ ।
चितवनमा उत्पादित सयपत्री फूल देशका अन्य शहरमा समेत विक्रिका लागि पठाइन्छ । मागको ७० देखि ८० प्रतिशत उत्पादन भएकाले चितवन फूलमा आत्मनिर्भर उन्मुख रहेको उनको भनाइ छ । चितवनमा १ सय बढी व्यक्तिले व्यावसायीक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । २ विघा बढी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नेहरु एक दर्जन हाराहारी छन् । तिहार लक्षित फूल खेती गर्न केही वर्षयता आमा समूह, सहकारी, संस्थाहरुको आकर्षण बढेको छ । तिहारमा मात्रै चितवनमा करिब ४ करोड हाराहारी फूलको कारोबार हुने गर्छ ।
भारतीय माला नष्ट गर्ने चेतावनी
चितवनका किसानले भारतीय मालाहरु बजारमा आए नष्ट गर्ने चेतावनी दिएका छन् । चितवन फूलमा आत्मनिर्भर रहेकाले सस्तोमा किनेर बढी मूल्यमा बेच्ने योजना बनाएका विचौलियालाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन् । कालिका–२ पदमपुरका फूल किसान गोविन्द बास्तोलाले फूल आयात गर्न नपर्ने बताए । “फूललाई सड्न नदिने केमिकल राखेर भारतबाट ल्याइने मालाहरु प्रतिवन्ध लगाउनुपर्छ” उनले भने, “स्वदेशी मालाको प्रर्वद्धन हुनुपर्छ ।” भारतबाट २ ट्रक माला भित्रिसकेको र अझै केही भित्रिने सूचना पाएको बताउँदै उनले अवैध रुपमा माला नष्टनै गर्ने अभियान चलाउन किसानहरु तयार रहेको बताए । सयपत्री फूललाई एक सातासम्म भण्डारण गरेर राख्न सकिन्छ । एक केजी फूलका गुच्छाबाट ५ वटासम्म माला बनाउन सकिन्छ । एउटा मालामा ३० देखि ३५ वटा गुच्छाहरु हुने गर्छन् । एक बेर्नाले करिब ३ महिनासम्म उत्पादन लिन सकिन्छ ।
भारतीय मालामा सुथरी र गुच्छा जोगाउन केमिकलहरु प्रयोग हुने भएकाले ताजा मालाहरु प्रयोग गर्न आग्रह गरे । रत्ननगर–१६ पिठुवामा डेढ विघामा फूलखेती गर्नुभएका किसान प्रविण लामाले आयातित माला भण्डारण गरि स्वदेशी किसानलाई धरासायी बनाउने चलखेल बढेको दुखेसो गरे । “सकेसम्म आयातित माला प्रयोग नगरौँ, स्वास्थ्यका लागि पनि ठिक छैन”, उनले भने, “किसान, उपभोक्ता सबै एकजुट भएमा स्वदेशी मालाको खपत राम्रो हुनेछ ।”