Logo

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/०७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/०७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभाशं सेयरधनीलाई वितरण गर्ने भएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।
कूल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंकको मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्