प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आगामी ४ मंसिरमा हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
आईतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ र्औ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । उनले प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन दिए । उनले गैरकानुनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिएका छन् ।
उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यावसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे । यस संस्कृतिको प्रवद्र्धन गरी अक्षुण राख्नु सबैको कर्तव्य भएको उनले उल्लेख गरे । महानिरीक्षक सिंहले चेन अफ कमाण्ड बाहिर रहेर गरिने वृत्तिविकास र अवसरको परिकल्पनाप्रति संगठन कठोर हुने स्पष्ट पार्नुभयो ।
उनले प्रविधिजन्य समस्याहरू समाधानका लागि प्रविधिमैत्री र प्रविधिको विकासप्रति अद्यावधिक हुन आग्रह गरे । उनले साइबर क्राइम, क्रिप्टो करेन्सी लगायत आर्थिक अपराधहरू बढेको भन्दै त्यसप्रति सचेत रहन पनि निर्देशन गर्नुभयो । अपराधहरूमा संलग्न व्यक्तिको पहिचान, त्यसको प्रभाव, पीडितको पहिचान, अन्तरनिकाय समन्वय, पीडितलाई क्षतिपूर्ति, पीडकलाई कारबाही गर्ने दायित्व वहन गर्न उहाँले प्रहरीहरूलाई आग्रह गरे ।
उनले प्रहरीले नागरिकको जायज र कानुनसम्मत अपेक्षा पूरा गर्नेगरी काम गर्नुपर्ने बताए । प्रहरीप्रतिको नकारात्मक धारणा हटाउने गरी काम गर्न उनले आग्रह गरे ।