वार्षिक ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने
नेपाल समाजवादी पार्टीको प्रतिबद्धतापत्र
नेपाल समाजवादी पार्टीले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै लगानीमैत्री वातावरण निर्माण गरी वार्षिक ५ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने जनाएको छ ।
आइतबार काठमाडौंमा आफ्नो घोषणापत्र सार्वजनिक गर्दै सो पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रोजगारीसहितको आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न उच्च लगानी र त्यसको निरन्तरता जरुरी हुने भएकाले स्वास्थ्य, शिक्षासहित लगानीमैत्री वातावरण र रोजगारीलाई उच्च प्राथमिकता दिएको बताए ।
उनले यसका लागि कुल गार्हस्थ्य उत्पादनको ३५–४० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए । “यसर्थ नेपालभित्र र बाहिर रहेका नेपाली तथा विदेशी लगानीलाई आकर्षित गर्न आर्थिक रूपान्तरणका लागि कुल बजेटको ३५ देखी ४० प्रतिशत लगानीयोग्य पूँजी अनिवार्य व्यवस्था गरिनेछ,” प्रतिबद्धतापत्र सार्वजनिक गर्दै भने, “लगानी गर्न निजी क्षेत्र, आन्तरिक गार्हस्थ्य बचत, रेमिट्यान्स तथा गैरआवासीय नेपाली, प्रत्यक्ष विदेशी लगानी, सरकारी लगानी, राजस्व बचत, विदेशी अनुदान र ऋणको परिचालन गरिनेछ ।”
लगानीपछि पूर्वाधार, कृषि तथा पशुपालन, सेवा क्षेत्र स्वास्थ्य, शिक्षामा गरेर वार्षिक ४ देखि ६ लाख रोजगारी सिर्जना गर्ने योजना छ ।
नेपालीहरूको आम्दानीलाई बचत गर्न प्रोत्साहन गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरणले निजी क्षेत्रको उत्पादनमूलक कार्यमा लगानी यथेष्ट मात्रामा बढाउने समेत प्रतिबद्धतापत्रमा उल्लेख छ । अन्तरनिर्भर अर्थतन्त्रको प्रतिफल : रोजगारीसहितको तीव्र आर्थिक वृद्धिमाथिका कार्यक्रमहरूले अर्थतन्त्रका तीनवटै क्षेत्रहरू (कृषि तथा पशुपालन, औद्योगिक तथा सेवाक्षेत्र) हरूलाई गतिशील बनाउने सो पार्टीको भनाइ छ ।
सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीमार्फत मुलुकमा दुई दशकसम्म दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल हुने जनाइएको छ । धेरैभन्दा धेरै लगानी बढाएपछि मुलुकमा आर्थिक स्थायित्व स्थापित हुने र समृद्धि कायम हुने भनाइ रहेको छ । नेपाली नागरिकको उपभोगका लागि धेरैभन्दा धेरै भौतिक वस्तु तथा सेवा उपलब्धता मुलुकभित्रै प्राप्त हुने अवस्था सिर्जना गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । तीब्र आर्थिक वृद्धिपछि अहिलेको ठूलो बजेटघाटालाई क्रमश: एकतिहाइमा झारिने जनाइएको छ ।
“तीव्र आर्थिक वृद्धि हुनासाथ प्रशस्त रोजगारीका अवसर निर्माण हुन गई वर्षमा ४ देखि ६ लाखसम्म युवालाई मुलुकभित्रै रोजगारी प्रदान गर्न सकिने वातावरण बन्नेछ,” नेता भट्टराईले भने, “समाजका सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायलाई समृद्ध बनाउन विकास र समन्यायिक वितरणले समुन्नत समाज निर्माण गर्छ अर्थात् मुलुकभित्र उपलब्ध वस्तु तथा सेवामा सबै नागरिकको न्यायमूलक पहुँच हुनुपर्छ ।” मुलुकभित्र विद्यमान आर्थिक विभेदलाई क्रमश: न्यूनीकरण गर्दै, सामाजिक विभेदको अन्त्य गर्ने तथा असहायहरूको सुरक्षा गर्ने दायित्व राज्यको रहेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यसैगरी सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई दिइने समेत समावेश गरिएको छ । यसरी नै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमा पाउने गरी शैक्षिक प्रणालीको विकास गरिने जनाइएको छ । प्रतिबद्धतापत्रमा स्थिर सरकार सुनिश्चितता गर्न प्रत्यक्ष निर्वाचन, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुला सहरको अवधारणासमेत राखिएको छ ।