सिद्धबाबा सुरुङमार्गको निर्माण पुसबाट

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम आगामी पुस अर्थात् जनवरीबाट सुरु हुने भएको छ । सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्ममा बुझाउने समय सीमा भएकाले आयोजनाको निर्माण कार्य सन् २०२३ को जनवरीबाट सुरु हुन भएको हो ।
निर्माण कम्पनीले डिसेम्बरभित्रै बुझाउने गरी डिजाइन र ड्रइङको काम गरिरहेको सुरुङमार्ग आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए । उनले भने, “डिजाइनको क्रममा रहेको छ । हामीले हेरेर स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुन्छ ।” सुरुङमार्ग निर्माणको लागि स्वीस डेभलपमेन्ट कर्पाेरेसन (एसडीसी) ले परामर्शदाताको रुपमा काम गरिरहेको र आयोजनाले सुरुङमार्ग निर्माणको डिजाइन तयार गरेर पठाएका कारण प्रतिक्रिया आउने क्रममा रहेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । एसडीसीको टिमले नोभेम्बरबाट स्थलगत भ्रमण गर्ने आयोजना प्रमुख श्रेष्ठले बताए ।
उनले भने, “ईपीसी मोडलमा निर्माण गर्न सम्झौता भएको सुरुङमार्गमा निर्माण कम्पनीले तोकेको डिजाइन गरेर दिन्छ । दिएपछि हेरेर स्वीकृत गर्छौं ।” आयोजनाको स्वीकृतपछि निर्माणको काम सुरु हुने आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । उनले भने, “सन् २०२३ को जनवरीबाट सुरुङमार्गको निर्माण कार्य सुरु हुनेछ ।” सुरुङमार्ग दुई लेनको १२ सय मिटरको हुनेछ । यसैगरी ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुनेछ । एउटा मुख्य र ३ वटा बाइपास सुरुङमार्ग निर्माण हुनेछ । निर्माण कार्य भौगोलिक हिसाबले चुनौतीपूर्ण रहेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।
सडक मार्गका माथिबाट पहिरो आएपनि छाता आकारको पूर्वाधार निर्माण गरिनेछ । पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रक सेड निर्माण हुने जनाइएको छ । निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुईपांग्रे्र साधनलाई निषेध गरिने छ । ०७८ फागुन अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल सो सुरुङमार्ग निर्माण गर्न कम्पनीले डिजाइनको काम गरिरहेको छ । सम्झौताअनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम गरेर बुझाउने समय सीमा दिइएको थियो । चाइना स्टेट कन्स्ट्रक्सनले बुझाएको डिजाइन आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुनेछ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्म मर्मत तथा सञ्चालन गर्नु पर्नेछ । यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सुरुङमार्ग १ं१ सय २६ मिटर लम्बाइ रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणको लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने १.१ किलोमिटरको सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबोलमा निर्माणको जिम्मा पाएको थियो ।