Logo

विकसित देशहरूले मानव संसाधनको विकासमा धेरै लगानी गरेका तथा शिक्षामा धेरै लगानी गरेका कारण नै हामीभन्दा उनीहरू विकसित भएका हुन्

शिक्षक अनुपस्थित भएका कारण करोडौं खेर गइरहेको छ

विश्व बैंकमा दुई दशकभन्दा बढी काम गरेर हाल लिडरसिप एकेडेमी नेपाल (ल्यान) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अरुण जोशी हार्डबर्ड विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनी विगत पाँच वर्षदेखि नेपालमा नै विश्वस्तरको शैक्षिक संस्था बनाउन खटिएका छन् । सन् १९९३ देखि विश्व बैंकमा जागिर खाएका उनी २३ वर्षपछि जागिर छोडेर नेपालमा नै केही गर्नुपर्‍यो भनेर नेपाल फर्किए । त्यसपछि विभिन्न सहयोगी तथा शुभचिन्तकहरू मिलेर ल्यानको सञ्चालन गर्न थालेका उनले नेपालको शिक्षा तथा देश विकासमा शिक्षाको भूमिकादेखि ल्यानको कार्यक्रमका बारेमा कारोबार राष्ट्रिय आर्थिक दैनिकले गरेको कुराकानीको सार :

नेपालमा त मानव विकासमा लगानी नै गरिन्न, त्यसैले कमजोर मानव संसाधनकै कारण नेपाल पछाडि परेको हो भनिन्छ नि ?
विश्वका कुनै पनि ठूलो देश वा सानो देश, जुन अलि छिटो माथि आए, विकसित भए, उनीहरू मानव संसाधनको विकास नभइकन विकास भएका छैनन् । विकसित देशहरूले मानव संसाधनको विकासमा धेरै लगानी गरेका तथा शिक्षामा धेरै लगानी गरेका कारण नै हामीभन्दा उनीहरू विकसित भएका हुन् । चाहे सिंगापुर भनौं वा हङकङ वा त्योभन्दा पहिले विकास भएका देशहरू सबैमा शिक्षामा धेरै लगानी छ । तर, हाम्रो देशमा अहिलेसम्म पनि शिक्षामा लगानी धेरै छैन । जसले गर्दा हामी धेरै विकसित हुन सकेनौं । त्यसैले ल्यानको उद्देश्य शिक्षाका विभिन्न चरणमा सहजीकरण गर्ने पनि हो ।
त्यसमाथि सरकारले शिक्षामा १० प्रतिशत हाराहारी बजेट छुट्ट्याउँछ । त्यसैले शिक्षा क्षेत्रको विकास हुने क्रम कम छ । सरकारको लगानी कम भएका कारण हाम्रो शिक्षाको क्षेत्रमा विकास होला जस्तो लाग्दैन मलाई । विकसित देशको प्रमुख जोड तथा एजेन्डा शिक्षालाई कसरी राम्रो बनाउने भन्ने हुन्छ । हाम्रोमा त्यो पनि छैन । जुन–जुन देशले शिक्षामा बढी लगानी तथा जोड दिएका छन्, तिनै देश विकसित भएका छन् । किनकि राम्रो शिक्षाले मात्र कुनै पनि देशलाई परिवर्तन गर्न सक्छ । हाम्रो देशमा त्यस्तो छैन । अनि त्यसमा बजेटको प्रायोरिटी पनि शिक्षा कहिल्यै भएन । शिक्षा बजेटमा सबैभन्दा बढी शिक्षकको तलब हुन्छ ।

तर, शिक्षकको तलबमा बढी बजेट खर्च भए पनि शिक्षकको गुणस्तर तथा शिक्षकको पनि अभाव छ नि ?
अहिले शिक्षक नहुनुको कारण धेरै छन् । शिक्षकहरूको प्रदर्शन तथा आचरण सुधार गर्ने तीन उपाय छन्, एउटा प्रशिक्षण गर्ने, अर्को जिम्मेवार बनाउने, अनि अर्को प्रोत्साहन गर्ने । सामान्यतया मान्छेहरूले शिक्षकलाई प्रशिक्षण गरे हुन्छ भन्छन्, तर अब प्रशिक्षण गर्दैमा हामी कुनै मेसिन त होइनौं । प्रशिक्षणमात्र गरेर काम केही पनि छैन । त्यसका साथसाथै प्रोत्साहन गर्नु पनि पर्‍यो । यसमा पनि आर्थिक पाटो तथा अर्को गैरआर्थिक पाटो छ । त्यो दुईवटा नै नभएपछि शिक्षकको शिक्षण पनि नराम्रो हुँदै जान्छ । अनि उनीहरूको अनुपस्थिति दर पनि बढ्दै जानछ । निजी ट्युसन गर्ने कारण आर्थिक कारणले हो, जसबाट विभिन्न विकृति सुरु हुन्छ ।
हामीले अध्ययन गर्दा कक्षाकोठामा शिक्षक अनुपस्थित भएका कारण दिनको करोडौं खेर गइरहेको छ । किनकि शिक्षक कक्षाकोठामा छैन । त्यो खेर गएको पैसाले हामीले गरेको हिसाबअनुसार हरेक दुई वर्षमा एउटा भैरहवा एयरपोर्ट बनाउन सकिन्छ । यसको मतलब यति धेरै पैसा खेर गएको छ । त्यसैले अझ अचम्म त के भयो भने किन शिक्षक आएका छैनन् भन्ने कुरा सरकारलाई थाहा छैन ।

नयाँ संविधानले त शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले कसरी शिक्षा सुधारमा काम गर्न सक्छन् ?
स्थानीय तहलाई शिक्षाको जिम्मा दिन त राम्रो हो । किनकि काठमाडौंबाट मनाङ वा मुस्ताङका विद्यालयलाई हेर्न सकिन्न । तर, स्थानीय तहलाई पनि त शिक्षामा सुधार गर्न सहयोग त चाहियो नि । त्यसैले लोकल सहभागिता त चाहियो नै, निजी क्षेत्र पनि चाहिन्छ ।
निजी क्षेत्रबाहेक नन स्टेट याक्टर पनि छन् । आईएनजीओहरूले पनि शिक्षाका कार्यक्रम चलाएका छन् । उनीहरूले बालशिक्षाजस्ता कार्यक्रम गरिरहेका छन् । अन्य विभिन्न खालका कार्यक्रम पनि चलाएका छन् । त्यसैले शिक्षाको विकासमा उनीहरूको पनि भूमिका र कर्तव्य धेरै छन् । केहीले राम्रो भूमिका पनि खेलेका छन् । जस्तो बंगलादेशमा हेर्नुभयो भने बंगलादेश रुरल कमिटी भन्ने छ, तिनीहरूले शिक्षाको क्षेत्रमा सरकारले जति गरेको छ त्यति नै योगदान गरेका छन् । सम्पूर्णमा हेर्दा राम्रो सिस्टममा चलाएका छन् ।
यस्तै, निजी क्षेत्रले पनि शिक्षा विकासमा विभिन्न शैक्षिक क्षेत्रमा भूमिका खेल्नु निकै महŒवपूर्ण छ । किनकि सरकारले पूरा गर्न नसकेको कुरा उनीहरूले नै गर्ने हो । कुनै–कुनै सरकारले नसकेका ठाउँमा कुनै एनजीओले विद्यालय चलाएर बसिरहेका हुन्छन् । त्यसैले निजी विद्यालय नराम्रो भन्नु पनि गलत हो । उनीहरूले पनि शिक्षामा केही योगदान गरेका छन् । कुनै–कुनैमा होला, पढाइसिकाइ केही छैन । पैसा मात्रै लियो भन्ने गुनासो, तर त्यसमा पनि सरकारको भूमिका छ । कुन निजी विद्यालय राम्रो छ, कुन नराम्रो छ, उनीहरूको गुणस्तर कस्तो छ भनेर हेर्ने काम त सरकारले नै हो गर्ने । सरकारले नराम्रोलाई बन्द गर्ने क्षमता राख्नुपर्‍यो अनि राम्रो गर्नेलाई प्रोत्साहन गर्ने क्षमता पनि राख्नुपर्‍यो । सरकारको नियामकीय क्षमता केही पनि छैन अनि निजी क्षेत्रलाई गाली गरेर बसेर पनि हुँदैन । सरकारमा पनि राम्रोसँग नियमन गर्ने मापदण्ड हुनुपर्‍यो । फेरि कसैसँग रिस उठ्यो भने बन्द गराइदिने, कोही मानिससँग चित्त बुझेन भने त्यसको स्कुल बन्द गरिदिने प्रचलन पनि ठीक होइन । कुन कारणले बन्द भयो भन्ने एउटा कारण पनि देखाउन नसकेको अवस्था पनि छ । कतिपय कुरा सरकारले हेरेकै छैन, जुन अरू देशमा छ । त्यसैले निजी क्षेत्रको भूमिका निकै छ । नत्र सरकार एक्लैले मात्र यो कार्य गर्नै सक्दैन । निजी क्षेत्रलाई पनि जिम्मेवार बनाउन प्रोत्साहन गर्नुपर्‍यो । नेपालमा त्यस खालको सोचाइ नै भएन । नेपालमा धेरै सिद्धान्तका कुरा मात्र भए । निजी विद्यालय नराम्रो भन्छन् वा निजी विद्यालय हुनु हुन्न भन्छन्, उनीहरूका बच्चा निजी विद्यालयमा नै पढ्छन् । यदि पहिलादेखि नै हाम्रो देशले सबै सरकारी विद्यालय राम्रो बनाएको भए निजी क्षेत्र शिक्षा क्षेत्रमा हात हाल्नै आउन्नथ्यो नि त ।

पछिल्लो समय नेपालमा मेडिकल शिक्षा पनि विवादित भयो । पटक–पटक डा. गोविन्द केसी अनशन बस्नुपरेको छ, किन यस्ता कुरामा सरकारको नीति स्पष्ट छैन ?
डा. केसी अनशन बस्नुका धेरै कारण छन् । र धेरैजसो कारण शिक्षाको समस्याले होइन । सरकारको नीतिगत अस्पष्टताले हो ।

तपाईंले विश्व बैंकमा लामो समय काम गर्नुभयो । पछिल्लो समय नेपालका विकास साझेदारप्रति पनि नेपालमा राम्रो इमेज छैन । आफ्नो स्वार्थका लागि नेपालजस्ता गरिब देशमा अनावश्यक तथा पैसा बाँड्ने कार्यक्रममा पनि ऋण दिन्छन् भन्ने गुनासो छ । तपाईंलाई के लाग्छ ?
वास्तवमा भन्दा विकास साझेदारहरूमा पनि कसले बढी रकम कति छिटो निकासा गर्ने भन्ने होड छ जसो लाग्छ । अहिले बाहिरबाट हेर्दा सायद नेपालजस्ता देशलाई ऋण दिने र कति छिटो त्यसलाई नेपाल भिœयाइदिने भन्ने होड पनि छ । सहयोगको प्रतिफल तथा त्यसको आवश्यकतामा जोड दिन नसकेको हो कि भन्ने पनि लाग्छ ।

तपाईं आबद्ध ल्यानले के गर्छ ?
विश्व बैंकमा पनि मेरो पहिलादेखि नै क्षेत्रीय शिक्षा र सिकाउने क्षेत्रमा काम गरें । मैले अफ्रिका तथा मिडलइस्टमा विश्व बैंकबाट विभिन्न कार्यक्रममा जाँदा शैक्षिक प्रशिक्षणको काम हेर्थें । मलाई के लाग्यो भने यसमा केही योगदान गर्न सकिन्छ । अनि त्यसले गर्दा हामीले ल्यान सुरु गर्‍यौं । विभिन्न क्षेत्रमा काम गरिरहेका वरिष्ठ प्रोफेसनलहरूलाई पनि केही कोर्स तथा तालिम आवश्यक पर्छ । त्यसैले धेरै गुणस्तरीय प्रशिक्षकबाट संसारमा हाल विकसित नयाँ–नयाँ प्रविधि तथा प्रवृत्तिहरूको ज्ञान दिनु आवश्यक छ । यस्ता नयाँ कुराहरूका लागि उच्चस्तरमा रहेका प्रोफेसनल तथा अन्यलाई पनि तालिम तथा निरन्तर सिकाइ आवश्यक हुन्छ । त्यसको प्रभाव उनीहरूको कार्यालय तथा उनीहरूभन्दा जुनियरमा पनि पर्छ र अन्ततोगत्वा समाजमा पनि पर्छ । यसै हिसाबले गर्दा त्यो व्यक्तिको विकास पनि हुन्छ र समग्रमा समाजको पनि विकास गर्न मद्दत पुग्छ । उनीहरू पे गर्न पनि सक्छन् । नेपालमा आफ्नै गुणस्तरमा पनि विभिन्न विचार हुन सक्छन् । तर, दुईवटा कुरा हेर्नुपर्छ, एउटा भनेको नयाँ प्रविधि जस्तै अमेरिकाकै प्रसिद्ध विश्वविद्यालयहरूमा के भइरहेको छ । उनीहरू यस्ता क्रियाकलाप गरिरहेका हुन्छन्, जसले उच्च तहका प्राफेसनलहरूलाई पनि नयाँ–नयाँ कुरा थाहा पाउन मद्दत हुन्छ । अर्को तिनीहरूसँग हामीहरूले काम गर्दा हामीले पनि नयाँ कुरा सिक्न सक्छौं र आफैंलाई अपटुडेट राख्न सक्छौं । त्यसैले उनीहरूको प्रविधि हामीले ल्याउनुपर्‍यो । त्यो एउटा कुरा ल्यानमार्फत गरियो । त्यसका लागि ल्यानले राइस युनिभर्सिटीसँग हाम्रो एउटा कोलाबरेसन छ । अब हाम्रो युनिभर्सिटी अफ भर्जिनियासँग पनि छ । र अरू दुई–चारवटा युनिभर्सिटीसँग पनि हाम्रो राम्रो सम्बन्ध छ । त्यसबाट ज्ञानको प्रसार गर्न सहयोग हुन्छ । त्यसरी विकसित मुलुकबाट ज्ञानको प्रसार गर्ने वातावरण बनाउँदा हाम्रो आफ्नै क्षमता पनि विकास हुन्छ । अनि हामी पनि विकास गर्न सक्छांै । यो माथिल्लो स्तरका युनिभर्सिटीले दिने प्रशिक्षणबाट सहभागीहरूलाई पनि आत्मविश्वास जाग्छ अनि विश्वस्तरीय ज्ञान पनि नेपालमा सञ्चार गर्न सकिन्छ । त्यसैले ल्यानले विश्वका प्रसिद्ध विश्वविद्यालयहरूसँग पार्टनरसिप गरेर ज्ञानको ट्रान्सफर गर्ने लक्ष्य लिएको छ ।
हामीले पछिल्लो समय निजी क्षेत्रमात्र नभएर सरकारी क्षेत्रमा पनि तालिम दिन सुरु गरिसकेका छौं । क्षमता अभिवृद्धिका यस्ता प्रशिक्षणद्वारा वृत्ति विकासमा गर्न पनि हामी लागेका छौं । अर्को आसलाग्दो कुराचाहिँ इन्टरनेसनल एक्सचेन्ज कार्यक्रम पनि छ । जस्तो अमेरिकाको विद्यार्थीलाई नेपालमा एक्स्पोजर दिने तथा नेपालको विद्यार्थीलाई अमेरिकी एक्सपोजर दिएर ज्ञानको अभिवृद्धि गर्ने । यसरी उनीहरूको क्षमता अभिवृद्धि गरेर सक्षम बनाउने प्रशिक्षण गर्ने भन्नेमा पनि हामी लागेका छौँ ।
सामान्यतया विश्वमा विकसित देशबाट अविकसित देशमा ज्ञानको प्रसार हुन्छ भन्ने मान्यता छ । तर, हामी उनीहरूले पढाएको सिक्ने बुझ्ने मात्र होइन, हामी हाम्रा ज्ञान पनि उनीहरूलाई सिकाउन सक्छौं । विश्वव्यापी ज्ञानका विषयमा हाम्रो लोकल ज्ञान पनि हामीले उनीहरूलाई सिकाउन सक्छौं । किनकि हाम्रो विषयमा हामीलाई उनीहरूलाई भन्दा बढी ज्ञान हुन्छ, जुन ज्ञान हामी संसारमा अरूलाई सघाउन सक्छौं । यो पनि हाम्रो उद्देश्य हो । यस्तै, पहिला विकसित मुलुकमा प्रशिक्षण लिनका लागि धेरै पैसा खर्च गरेर बाहिरै गएर लिनुपर्ने बाध्यता थियो, जसले गर्दा सबैको पहँचमा थिएन । तर, हामीले नेपालमा नै सुरु गरेपछि पहँच पनि वृद्धि भएको छ । त्यसैले हामी समग्र शिक्षाको कमजोरी तथा कमी भएका ठाउँमा त्यसको परिपूर्ति गर्ने कोसिस गर्दै छौं ।

प्रतिक्रिया दिनुहोस्