Logo

बंगुरको फोहोरलाई मोहोर बनाउँदै व्यवसायी

जुम्ला सदरमुकामस्थित साविक कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापनको हालसम्म पहल गर्न सकेको छैन ।
वर्षौदेखि फोहोर व्यवस्थापन मुख्य ऐजेण्डा बन्दै आएपनि हालसम्म फोहोरको उचित व्यवस्थापन नहुँदा बजार दुर्गन्धीत बन्दै गएको छ । तर जुम्लाका नमुना उद्यमी तथा राजनीतिककर्मी मनोज बुढाथोकी मगरले व्यावसायिक बंगुर पालन गरेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । आर्थिक समृद्धि, रोजगारी सृजना र फोहोर व्यवस्थापनको दिगो लक्ष्य राखेर २०७४ सालबाट ६ लाख रुपैयाँ लगानीमा सुरु गरिएको बंगुर पालनले बहुउपयोगी फाइदा गरेको उद्यमी बुढाथोकी मगर बताउँछन् ।
एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले जुम्लामा ३ वटा बंगुरबाट व्यवसाय सुरु गरी हाल ४५ वटा बंगुर पुराएका छन् । उनी भन्छन् “बहुउद्देश्यीय लक्ष्यले बंगुर पालन सुरु गरिएको हो । बजारमा फोहोर बढ्दै गएपछि नगरपालिकालाई व्यवस्थापनको सकस पनि उतिकै छ । तर हामीले बंगुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छौं ।”
दैनिक बजारको झण्डै ३ क्वीन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बंगुरको दानाका रुपमा प्रयोग गरिरहेका छौं । मनोजले थपे, “बजार क्षेत्रका झण्डै एक हजार घरबाट ३ हजार क्वीन्टल फोहोर निस्किने अनुमान छ । कुहिने फोहोर संकलनका लागि सय घरमा व्यक्तिगत लगानीमा बाल्टी दिइएको छ ।”
बंगुरकै दानाका लागि मनोजले व्यक्तिगत रुपमा फोहोर उठाउँदा पछिल्लो समय बजारको फोहार कम हुँदै गएको छ । चाँडै जुम्लामा बंगुरको प्याकेजिङ मासु बिक्री गर्ने तयारी समेत भइरहेको छ ।
नगरपालिकाले गर्नुपर्ने फोहोर उठाउने काम मगरले बंगुर पालेर एकातिर उद्यमशीलता, रोजगारी सृजना र आर्थिक आम्दानी गरेका छन् भने अर्कोतिर बजारको फोहोरलाई दीर्घकालिन व्यवस्थापनको उत्तम विकल्प निकालेका छन् ।
जुम्लामा इन्टरलक इट्टा उद्योग सञ्चालन, बंगुर पालन लगायतका विभिन्न माध्यमबाट झण्डै ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको बुढाथोकीले उल्लेख गरे । बंगुर पालनपछि कुटानी पिसानी मिल समेत सञ्चालनमा ल्याइएको छ । जसले स्थानीयलाई राहत भएको छ भने आएको भुसले बंगुलाई दाना प्राप्त भएको छ ।
राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोज जुम्लाको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि उद्यमशीलतालाई पहिलो जोड दिनु पर्ने बताउँछन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनको विश्वास छ ।
समाज रुपान्तरण र आर्थिक क्रान्तिका लागि पनि उद्यमशी सिलता पहिलो आधार हो । जनतालाको पुँजी वृद्धिका लागि व्यवसयालाई पहिलो जोड दिनु पर्ने उनको भनाइ छ । राज्यले विभिन्न उपाय अपनाउँदा पनि फोहोर व्यवस्थापनमा सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्