लमजुङमा देउसीभैलो खेल्न समय निर्धारण

लमजुङ प्रशासनले तिहारका बेला खेलिने देउसीभैलाका लागि समय निर्धारण गरेको छ । नजिकिदो निर्वाचन र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै दीपावलीका अवसरमा खेलिने देउसीभैलोका लागि समय सिमा निर्धारण गरेको हो ।
जिल्लास्थित सुरक्षा समितिको बैठकले तिहारका बेला हुने देउसीभैलोका लागि विहान सात वजेदेखि बेलुका आठ बजेसम्म समय निर्धारण गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । देउसीभैला बाहेक जुवातास खेल्ने तथा खेलाउने, अतिसबाजी, भुइँचम्पा, पटकाजन्य पदार्थ विक्री वितरणमा समेत प्रतिवन्ध लगाएको प्रजिअ बैद्यको भनाई छ ।
त्यसैगरी सुरक्षा समिति लमजुङले दिपावलीको अवसरमा जिल्लाको सुरक्षा व्यवस्थालाई कडाई गरेको छ । प्रशासनको आग्रहलाई बेवास्ता गरी अवाञ्छित क्रियाकलाप गरेमा कानुन बमोजिम कारवाहि गरिने समेत प्रशासनले चेतावनी दिएको छ । तिहारका बेला हुनसक्ने सम्भावित घटनाहरु न्यूनीकरणका गर्न सुरक्षा व्यवस्थामा कडाई गरेको प्रजिअ बैद्यले बताए ।
तिहारको समयमा पटका, अतिसबाजी, भुइँचम्पालगायतका विस्फोटक पदार्थहरु अवैध रूपमा जिल्लामा भित्रिन नदिन, तथा त्यस्ता पदार्थको उत्पादन, भण्डारण, ओसारपसार तथा विक्रिवितरण सँगै जुवा, तास खेल्ने–खेलाउनेलगायतका गैह्र कानुनी गतिविधि हुन नदिन सुरक्षा निगरानी बढाउने प्रशासनले जनाएको छ । आसन्न निर्वाचनका कारण तिहारलाई लक्षित गरेर पहिलेको भन्दा सुरक्षा व्यवस्था अलि कडा पारिएको सुरक्षा समितिले जनाएको छ ।
चाड तिहारका बेला हुनसक्ने घटनालाई मध्यनजर राख्दै जिल्लाका विभिन्न स्थानमा चेकजाँच गरीने प्रशासनले जनाएको छ । बाहिरी जिल्लाबाट प्रज्वनलशील पदार्थ भित्रिनसक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको हो । पटाका, भुइँचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागीका दुर्घटना निम्तिन सक्ने भएकाले यसको प्रयोगमा नियन्त्रण तथा रोक लगाएको लमजुङ प्रशासनले जनाएको छ ।