विभिन्न प्रदेशमा पहिलो बैठकको तयारी तीव्र «

विभिन्न प्रदेशमा पहिलो बैठकको तयारी तीव्र

 यसै साता हुने पहिलो प्रदेश सभा बैठकका लागि विभिन्न प्रदेशमा तयारी तीव्र पारिएको छ । अहिलेसम्म ३ नम्बर प्रदेश सभाको मात्र पहिलो बैठक सम्पन्न भएको छ । यसै साता हुने पहिलो प्रदेश सभा बैठकका लागि विभिन्न प्रदेशमा तयारी तीव्र पारिएको छ । अहिलेसम्म ३ नम्बर प्रदेश सभाको मात्र पहिलो बैठक सम्पन्न भएको छ ।प्रदेश नं ६ को अस्थायी मुकाम सुर्खेतमा आइतबार (आज) बस्ने प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको तयारीलाई तीव्रता दिइएको छ ।वीरेन्द्रनगरस्थित सिँचाइ डिभिजन कार्यालयको सभा हलमा बस्ने बैठकको तयारीका लागि अहिले कर्मचारीलाई भ्याइनभ्याइ छ । बैठक हलमा कुर्सी मिलाउनेदेखि हललाई शोभायमान बनाउने कार्यमा कर्मचारी खटिरहेका छन् । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गर्ने संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । यसका लागि शनिबार पूर्वाभ्याससमेत गरिएको थियो । सर्वदलीय बैठकले आइतबार बस्ने बैठकको कार्यसूचीसमेत तय गरिसकेको बैठकमा सहभागी प्रदेशसभा सदस्य सीता नेपालीले जानकारी दिइन् । आइतबार दिउँसो १ बजे शुरु हुने बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाइने, शहीदप्रति श्रद्धान्जलि व्यक्त गरिने, सभाअध्यक्षसहित प्रदेश संसद्मा प्रतिनिधित्व गरेका पार्टीका एक÷एक सदस्यले मन्तव्य राख्ने, अन्तरिम कार्यविधि तय गरिने र सभामुखको निर्वाचनको मिति तोकिने कार्यसूची तय गरिएको छ । सम्भवतः सोही बैठकले यही माघ २९ गते सभामुख चयनका लागि चुनावको मिति तोक्ने बताइएको छ । त्यसका लागि संसद् सचिवालयले आवश्यक चुनावी तयारीसमेत गरिरहेको छ ।बैठकमा पत्रकारको प्रवेशका लागि संसद् सचिवालयले परिचयपत्रको व्यवस्था गरेको छ भने पत्रकारलाई मर्यादित पोशाक लगाउन आग्रह गरिएको छ । प्रदेश नं ६ मा नेकपा (एमाले) बाट २०, नेकपा (माओवादी–केन्द्र) बाट १३, नेपाली कांग्रेसबाट छ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक गरी ४० जना सदस्य छन् । यसैगरी शुक्रबार मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यलय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । प्रदेश नं ६ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रमुख सचिवमा नियुक्त भएका सुरेश प्रधानले पनि शुक्रबार नै पदवहाली गरेका छन् । उता, सात नं प्रदेशको आइतबार बस्ने पहिलो प्रदेशसभा बैठकका लागि प्रदेशसभा सदस्यहरु धनगढी आउने क्रम जारी रहेको छ । कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा बस्ने बैठकमा सहभागी हुन यहाँका सबै जिल्लाबाट निर्वाचित र समानुपातिक सांसदहरु धनगढी आइरहेका हुन् । बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए । “पहिलो बैठकमा कार्यसूचीको सम्बन्धमा प्रदेश प्रमुखले आह्वान गरेको बैठकको पत्रबाट शुरुवात् हुनेछ,” उनले भने । उनका अनुसार धनगढी आइपुग्ने सांसदहरुले सभामा सहभागी हुन प्रवेश पाससमेत लिइरहेका छन् । शनिबार दिउँसोदेखि साँझ अबेरसम्म बैठक बस्ने सभाभवनमा समेत सांसदहरुको चहलपहल देखिएको थियो । बैठकका लागि कैलालीसँगै, कञ्चनपुर, डोटी, डडेल्धुरा, बाजुरालगायत जिल्लाबाट सांसद आइरहेका छन् ।प्रदेशसभा बैठकस्थलमा ३० जना मर्यादापालक परिचालन गरिने छन् । प्रहरी निरीक्षकको नेतृत्वमा खटिने मर्यादापालकले आवश्यक तालीमसमेत लिइसकेका छन् । त्यसका साथै बैठकस्थल बाहिर नेपाल प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । त्रिपन्न जना सांसद रहेको ७ नं प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राजपाको प्रतिनिधित्व रहेको छ । जसमा एमालेका २५, माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सांसद छन् । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्नेछिन् । प्रदेश नं ४ को यही माघ २२ गते हुने पहिलो प्रदेशसभा बैठकलाई लक्षित गर्दै शनिबार आयोजित सर्वदलीय बैठकले पहिलो प्रदेशसभाको सञ्चालन र त्यसका विषय सम्बन्धमा छलफल गरेको छ । संसद् सचिवालयका प्रतिनिधिसमेतको उपस्थितिमा सम्पन्न बैठकले प्रदेशसभा सञ्चालनको प्रक्रिया, अन्तरिम कार्यविधिलगायतमा छलफल गरेको हो । दलहरूबीच पहिलो बैठकमा संसदीय परम्पराअनुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सहमति भएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार शनिबारको बैठकमा उक्त दिन प्रत्येक ठूला दलबाट तीन-तीन जना (कम्तीमा एकजना महिला सहित) र साना दलबाट एक-एक जना गरी ११ जनाले मन्तव्य दिने दलहरूबीच सहमति भएको छ । पहिलो बैठक एक घण्टा १५ मिनेटसम्म चल्ने अनुमान गरिएको छ ।
सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन सम्बन्धमा कार्यविधिबारे पनि छलफल भएको जानकारी दिँदै बुढाथोकीले अन्य केही कुरा थपघट गर्नुपर्ने भएमा शनिबार बसेका कार्यदलको बैठक प्रदेशसभा बस्नु अगावै बस्ने सहमति भएको बताए । 

प्रतिक्रिया दिनुहोस्