‘पोखरामा खेलकुदको आवश्यक पूर्वाधार निर्माण गर्न पहल गर्ने’

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले पोखरामा खेलकुदका आवश्यक पूर्वाधार निर्माण गर्न पहल गर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको भोलिपल्ट शुक्रबार बेलुका आयोजित एक समारोहमा मन्त्री गहतराजले पोखरामा नवौंमा बन्न नसकेका तर खेलकुलको आवश्यक पूर्वाधार निर्माण गर्न आफूहरूले पहल गर्ने बताएका हुन्।
नवौं खेलकुदमा खटिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी सहितका अन्य पत्रकार लगायतका विभिन्न संघ–संस्थाहरूलाई धन्यवाद दिँदै मन्त्री गहतराजले पोखरा खेलकुदसंगै पर्यटनको समेत उतिकै सम्भावना भएकोले गर्दा खेलकुदको आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताए । पोखरामा पौडी, सुटिङ र क्रिकेट मैदान निर्माण गर्न आफूहरूले विशेष पहल गरी रकम सुनिश्चित गर्ने उनले बताए । उनले भने “ हामीले यस बर्ष हतारमा खेलकुद गर्दा केही खेलाडीहरू घाइते भएको पाइयो, त्यस कारण अब दुई बर्षमा कर्णालीमा हुने प्रतियोगिताको मिति समेत घोषणा गरेका छौं । ”
नवौं खेलकुदमा हरेक खेलाडीको व्यक्तिगत रुपमा पहिलो पटक बिमा गरिएको मन्त्री गहतराजले जनाए । यसअघि खेलाडीहरूको सामूहिक बिमा गरिने गरेको थियो । सञ्चारकर्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरिएको नवौं खेलकुदको प्रचारले अन्तर्राष्ट्रिय खेलाडीहरू छनोट गर्न बाटो खुला भएको उनले बताए । आगामी हुने राष्ट्रिय खेलकुदमा नवौंका कमीकमजोरीलाई सुधार गर्नुपर्ने उनले जनाए । नवौं खेलकुदमा प्याराग्लाइडिङका निशिम थापालाई गुमाउनु परेको घटनाले आफुहरू दुखी भएको बताउँदै मन्त्री गहतराजले पोखरा रंगशालामा अब छिट्टै उनको सम्मानमा अर्ध कदको शालिक राख्ने बताए ।
राखेपका सदस्य सचिब टंकलाल घिसिङले गण्डकी प्रदेशका पत्रकारले अन्य प्रदेशका पत्रकारलाई अनुशरण हुने गरी अहो रात्र खटिएको बताए । देशको विसम परिस्थितीमा पनि उक्त प्रतियोगिता सम्पन्न गर्न सफल भएकोमा सबैलाई उनले समेत धन्यवाद दिए ।
राखेपका सदस्य एवं प्रचार संयोजक दीपेन्द्र विष्टले उक्त खेलकुदमा सवै तहका सरकारको सहयोग प्राप्त भएको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले नवौं खेलकुदले पोखरालाई कम्तिमा पनि पौडी पोखरी र सुटिङको ट्रेनिङ सेन्टर निर्माण हुनुपर्ने बताए । उक्त संरचना निर्माणको लागि आवश्यक पहल लिन मन्त्री तथा सदस्य सचिवसमक्ष आग्रह गरे । आफुहरूले पाएको अवसरलाई सकेसम्म राम्रो गरेको उनको भनाइ छ ।
गण्डकीमा २८ असोजदेखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । त्रिभुवन आर्मी प्रतियोगितामा च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।