दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि

फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ ।
यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्ने बताइएको छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादनतथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरुको विकास गरेको हो ।
हालसम्म करिब सात सय खानेपानी समितिहरूलाई डिजिटलाइजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालीकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खाानेपानी समितिहरूमा यसको प्रयोग हुनुपर्ने भन्दै अपिल समेत गरे । कार्यक्रममा बागमती प्रदेशका खानेपानी समितिका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरे । करिव दस वर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरू निर्माण गर्दै आएको छ ।