Logo

राहत, उद्धार र पुन:स्थापनामा सेना

सेनाले दुई दिनमै बनायो जुम्ला–डोल्पा जोड्ने पुल

गत साता भएको अविरल वर्षाले जुम्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । अविरल वर्षापछि आएको बाढी पहिरोले जुम्लामा दर्जनौ पुल, सिँचाइ कुलो, घर, सडकलगायतका संरचना भत्किनुका साथै क्षत विक्षत भएका छन् ।
जसअन्तर्गत जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित जुम्ला–डोल्पा जोड्ने काठेपुल बाढीले बगाएको थियो । जुम्ला–डोल्पा जोड्ने, गुठिचौर वडा नं. १ र २ का दर्जनौं बस्ती आउजाउ गर्ने एकमात्र माध्यम कुडिगाउँ पुल बाढीमा बगेको हो । पुल बग्दा गुठिचौरको माथिल्लो क्षेत्र र डोल्पामा दैनिक उपभोग्य निर्यातमा कठिन भएको थियो भने स्थानीयलाई दैनिक आवतजावतमा समेत सास्ती भएको थियो ।
तर गाउँपालिकाको पहल तथा नेपाली सेना र स्थानीयको सहभागितामा जुम्ला–डोल्पा जोड्ने पुल दुई दिनमै निर्माण सम्पन्न गरिएको छ । नन्दाबक्स गण जुम्लाका जमदार भेषबहादुर रावलको अगुवाइमा गएको ३० जना नेपाली सेनालको टोलीले दुईदिनमै पुल निर्माण सम्पन्न गरी फर्किएको हो । जनश्रमदानबाटै पुल निर्माण गर्ने पालिकाको योजनाअनुसार सयौ स्थानीय र सेनाको सहभागिताले चिनियाँ शैलीमा दुई जिल्ला जोड्ने पुल निर्माण गरिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।
उनले भने, “बाढी पहिरोको क्षतिबाट गुठिचौर पनि अछुतो रहेन । पुल बगाउँदा खाद्यान्न आपूर्ति, जुम्ला डोल्पा यातायात ठप्प भयो भने स्थानीयको दैनिकीसमेत सास्तीपूर्ण भयो । चाँडो सडक खुलाउन र नागरिकलाई राहत दिन सेनाको सहभागितामा दुईदिनमै पुल बनाएपछि डेढ हप्तादेखि अवरुद्ध सडक खुलेको हो ।”
पालिकाबाट बजेट विनियोजन गरी पुल निर्माण भएको खण्डमा कम्तीमा पनि १० लाख बढी खर्च हुने निश्चित थियो । तर नेपाली सेना र स्थानीयको जनश्रमदानमा खाने, काठ काटेको र ग्यामिनजालीको गरी साढे दुई लाखमात्रै खर्च भएको छ । गुठिचौरमा थन्किएको जडिबुटी ढुवानी गर्न सहज हुनुका साथै व्यापारिक सामान ल्याउन लैजान सकिने अवस्था रहेको स्थानीयले बताए ।

सडक खुल्दा स्थानीय खुसी
अविरल वर्षाले पुल बगाएपछि गुठिचौर १ र २ का झण्डै ७ सयबढी स्थानीय नागरिकले आवतजावत गर्न पाएनन् । खाद्यान्न ओसार्नसमेत नसक्दा दैनिकी प्रभावित थियो । गुठिचौर–२ का लालबहादुर बोहोराले भने, “बाढीले बगाएको पुल पालिकाको पहलमा नेपाली सेनाले दुई दिनमै बनाएर सडक खुल्यो । अब सहजै गाडी गुड्ने छन् भने आवतजावतमा सहज हुनेछ ।”
बाढीले बगाएको पुल विगतको भन्दा बलियो निर्माण भएको छ । सेनाले गाउँमै गएर नागरिकको राहतका लागि गरेका थुप्रै कामले समेत स्थानीय मख्ख छन् । स्थानीय मनसुर बोहोरा, सिंहवीर बोहोरालगायत गुठिचौर १ र २ का सयौं नागरिक दुईदिनमै पुल निर्माण भएर सञ्चालनमा आएपछि खुसी भएका छन् ।
गुठिचौर–१ का वडाध्यक्ष अर्जुनकुमार महतारा र वडा नं २ का वडाध्यक्ष दिपबहादुर ऐडीले पछिल्लो समय नेपाली सेना राहत उद्धार र पुन:स्थापनमा सक्रिय भएको प्रति धन्यवाद दिए । पुल निर्माण पश्चात दुई जिल्लाको व्यापारिक गतिविधि बढ्ने र नागरिकले राहत महसुस गर्ने अध्यक्ष महताराको विश्वास छ । सेनासँगै गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, वडाध्यक्ष अर्जुन महतारा, दिपबहादुर ऐडीलगायतको टोली खटिएको थियो ।

राजमार्ग खुलाउन देखि राहत उद्धारमा सेना
नेपाली सेना पछिल्लो समय बाढी पहिरो प्रभावितको राहत उद्धार तथा पुन:स्थापना र पुनर्निर्माणमा जुटेको छ । कर्णाली राजमार्ग खुलाउन ब्लास्टिङ गर्ने, दुर्गम कनकासुन्दरीमा राहत बोकेरै लिएर बाँड्नेदेखि अवरुद्ध जुम्ला–डोल्पा सडक खुलाउनलगायतका राहत उद्धारका काममा सेना जुटेको छ ।
नन्दाबक्स गणका जुम्लाका गणपति रवीन थापाले वर्षासँगै आएको बाढी पहिरो प्रभावितको राहत उद्धार पुन:स्थापना र पुनर्निर्माणका साथै जनजीवन सहज बनाउन सेनाले विगत डेढ हप्तादेखि विभिन्न ठाउँमा खटिएर काम गरिरहेको बताए । उनका अनुसार गत हप्ता वर्षात्कै बीच कनकासुन्दरी पुगेर पीडितलाई सेनाले राहत दिएको थियो भने कर्णाली राजमार्ग खुलाउनका लागि समेत सुरुवातिदेखि जुटिरहेको छ । आजभोलि दैनिकजसो ब्लास्टिङ गरिरहेको छ ।
सेनाले दुई दिनमा बनाएको जुम्ला–डोल्पा जोड्ने पुल । तस्बिर : कारोबार

प्रतिक्रिया दिनुहोस्