अरुण तेस्रो परियोजनाको उच्चस्तरीय अनुगमन

रूपान्तरणकारी योजनाका रूपमा निर्माणाधीन अरुण तेस्रो (९०० मेगावाट) जलविद्युत परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिबारे शनिबार उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न भएको छ ।
उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव श्री शंकरदास बैरागीले गरेका थिए र भ्रमणमा नेपाल सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलगायत उच्चपदस्थ अधिकारी तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युतगृह, प्रसारणलाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अरुण तेस्रो जलविद्युत परियोजना र प्रसारणलाइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयमा समेत छलफल भएको थियो ।
छलफलका क्रममा नेपाल सरकारका मुख्यसचिवले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषयहरू समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएका थिए । साथै उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिए ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले अरुण तेस्रो जलविद्युत परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई विना अवरोध प्रभावकारी रूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आह्वान गरे ।