Logo

राप्रपाका उम्मेदवार देउसीभैलोमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दावी गरेका छन् । अध्यक्ष लिङ्देनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे ।
तिहारसहितका चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अध्यक्ष लिङ्देनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जान आफ्नो पार्टी मात्रै सक्षम रहेको बताए । उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरुको पनि पालो आउने आश्वासन समेत दिए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने बताए । त्यसका लागि राप्रपाका नेताहरुले एकतावद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो ।
काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शिर्ष नेताहरुलाई सच्याउन पनि कांग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकीर गरे । उनले राप्रपा मुलुकको बैकल्पिक राजनीतिक शक्ति भएकाले नेपाली जनताले यस पार्टीलाई आगामी निर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष मिश्रले जनताको जीवन परिवर्तन गर्नै नसक्ने पार्टीमा कांग्रेस–एमालेका कार्यकर्ताले बस्न नमिल्ने पनि पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्