Logo

बजारमा सुनचाँदी अभाव

बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष गुनासो गर्दै विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको पनि बताए ।
तिजपछि दसैं, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि हाल अभाव भएका कारण सुनचाँदीको माग उच्च रहेको छ । त्यसैले सुनचाँदी व्यवसायीले ग्राहकको माग अनुसार सुनका गहरगहना दिन सकेका छैनन् । सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । उनले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए । गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गर्दै शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए । उनले दसैंपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको जानकरी दिँदै धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार भएको आशा रहेको बताए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखेपनि चासो नदिएको गुनासो पनि गरे । सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने उनको भनाइ छ ।
परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पूजा गर्ने प्रचलन रहेको छ । धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मन पर्ने भएकाले विशेष गरेर धनतेरसको दिन सुनभन्दा चाँदी बढी बिक्री हुने शाक्य बताउँछन् । उनका अनुसार हाल दैनिक २ सयदेखि ३ सय किलोसम्म चाँदीको कारोबार भइरहेकोमा धनतेरसको दिन १ हजार किलोसम्म कारोबार हुने जनाए । धनतेरसको दिन नै सबैभन्दा बढी व्यापर हुने उनी बताउँछन् । पछिल्लो समय लगानीयोग्य तरलता अभाव भएको भनिए पनि बजारमा लाखौंको सुनचाँदी कारोबार भइरहेको छ ।
बजारमा सुनचाँदी अभाव भएको व्यापारीको गुनासो जायज भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक भट्टराईको भनाइ छ । उनले व्यवसायीको गुनासो जायज भएको र त्यसलाई आफूले सम्बन्धित निकायमा पुर्‍याउने प्रतिवद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्