सेयर बजार सामान्य बढ्यो, कारोबार रकम २१ प्रतिशत कम

साताभरिको कारोबार रकममा २१ प्रतिसतले कमी आएको छ । गत सातामा सेयर परिसूचक भने ५ अंकले उकालो लागेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार केही सुधारिँदो सेयर परिसूचकांक (नेप्से) ५ अंकले उकालो लागेको हो । यसलाई वाणिज्य बैंक, उत्पादनमूलक, विकास बैंक, वित्त लघुवित्त समूहले साथ दिएको छ । जलविद्युुत् समूहमा बढेका छैनन् । आगामी दिनमा सेयर बजारमा बिक्रीकर्ताको नै चाप परी अझै ओरालो लाग्न सक्ने देखिन्छ । आगामी साता सरकार बन्ने सक्ने सम्भावना छैन तर यो कामले राजनीतिमा उतारचढाव भने ल्याउन सक्छ । यसैको सेरोफेरोमा सेयर बजार रहने देखिन्छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १६७६९ कारोबारबाट एक अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरका ३४ लाख ७३ हजार २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २१.२८ प्रतिशत कम हो । गत साता १७७ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १९१३३ कारोबारबाट एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरका ५० लाख ५९ हजार नौ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.५७ अंकले बढेर अन्तिम दिन १४११.५२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.११ अंकले बढेर २९८.१२ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (आठ करोड २५ लाख २० हजार रुपैयाँ) को आधारमा सानिमा माई हाईड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ११ हजार कित्ता) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६७४ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।