Logo

रेमिट्यान्स बढ्यो तर विदेशी मुद्रा सञ्चितिमा सुधार आएन

महँगी बढ्ने क्रम रोकिएन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस–युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन । गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपलिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो । तर, दोस्रो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत पुगेको छ । भदौको मूल्यवृद्धि गत ६ वर्षकै उच्च हो ।
गत आर्थिक वर्षमा पनि महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको थियो । राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.०८ प्रतिशत पुगेको थियो भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको थियो ।
शुक्रबार भदौको आर्थिक अवस्था सार्वजनिक गर्दै राष्ट्र बैंकले खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्यको ९.०२ प्रतिशतले बढेको उल्लेख गरेको छ । फलफूल, घ्युतेल, रेष्टुरेन्ट तथा होटल, मदिराजन्य पदार्थदेखि तरकारीसम्मको भाउ बढेको छ भने स्वास्थ्य सेवादेखि फर्निसिङ, घरायसी उपकरण, शिक्षा लगायतको भाउ पनि बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
हिमाली क्षेत्रमा ६.६८ प्रतिशत मुद्रस्फीति छ भने काठमाडौंमा ७.६२ प्रतिशत तथा तराईमा ९.३३ प्रतिशतले मुद्रास्फीति बढेको छ । तर, पहाडमा भने ८.८२ प्रतिशतले मुद्रस्फीति बढेको छ ।
यसैगरी, चालू आर्थिक वर्षको दोस्रो महिनामा रेमिट्यान्स आयमा थोरै सुधार भए पनि विदेशी मुद्राको सञ्चिति भने घटेको छ । विदेशी मुद्राको सञ्चिति ८ अर्ब ६९ करोड रुपैयाँले घटेको छ । तर, घट्ने क्रम भने सुस्त भएको छ । किनकि साउनमा १७.९५ अर्बले घटेको विदेशी मुद्रा सञ्चिति भदौमा ८ अर्ब ६९ करोडले घटेको हो । तर, साउनको तुलनामा भदौमा २ अर्ब ६२ करोड रेमिट्यान्स बढी नेपाल भित्रिएको छ । भदौमा मात्र ९४ अर्ब ८३ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । गत वर्ष भदौमा ७९ अर्ब ४१ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । रेमिट्यान्स आय गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ । नेपाली रुपैयाँमा रेमिट्यान्स १९.८ प्रतिशतले वृद्धि भई १ खर्ब ८७ अर्ब ४ करोड पुगेको छ ।
रेमिट्यान्स आयमा सुधार भए पनि विदेशी मुद्रा सञ्चितिमा सुधार नआएका कारण चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हाल रहेको विदेशी मुद्रा सञ्चितिले ९ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, साउनमा २२ अर्ब ६३ करोड घाटामा रहेको शोधनान्तर भदौमा २३ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । गत भदौमा पनि शोधनान्तर ८३ अर्ब ४१ करोड रुपैयाँ घाटामा थियो । चालू खाता घाटा दोस्रो महिनामा पनि ऋणात्मक छ । साउनमा १६ अर्ब २६ करोडको घाटामा भदौमा ३७ अर्ब १८ करोड घाटामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्