Logo

सडक मार्ग अवरुद्ध हुँदा हवाई टिकट पाउन मुस्किल

गत हप्ताको वर्षाका कारण कर्णाली राजमार्ग एकसातादेखि पूर्णरुपमा अवरुद्ध छ । धेरै ठाउँमा पहिरो खसेर, सडक भासिएकालगायतका कारण अवरुद्ध भएको हो । विभिन्न ठाउँमा दैनिक १५ भन्दा बढी मेसिन र जनशक्ति खटाइएर नियमित पहिरो पन्छाउने काम भएपनि सडक खुल्ने टुगो छैन । सडक राजमार्ग अवरुद्धपछि एक मात्र विकल्पका रुपमा रहेका हवाई सेवा सर्वसाधारणको पहुँचमा नहुँदा सास्ती भएको छ ।
कर्णाली राजमार्ग पहिरोले जोखिमपूर्ण भएपछि त्यहाँका नागरिक अहिले महँगो भाडा तिरेर हवाई मार्गमार्फत यात्रा गर्न बाध्य छन् । १३ हजारदेखि माथि प्रतिव्यक्तिको भाडा लिने गरिएको छ ।
तर विमानस्थलमा यात्रुको चाप भएपछि सर्वसाधारणलाई टिकट पाउन मुस्किल भएको छ । टिकटमा मनोमानी छ । पहुँचवालाले सहजै टिकट पाएका छन् । जुम्लाका तपेन्द्र भट्टराई भन्छन्, “विमानस्थलमा सर्वसाधारण यात्रुले सहजै टिकट पाउने अवस्था छैन । पहुँचको भरमा टिकट वितरण हुन्छ । गाडीबाट यात्रा गर्ने सम्भावना पनि छैन, आफ्नो पढाइ र कर्मथलोको लागि सुर्खेत, नेपालगञ्ज लगायत ठाउँमा जान पनि विमानस्थलमा यात्रुको खचाखच छ ।” महँगो भाडा तिरेर पनि सर्वसाधारणले हवाई सेवा प्रयोग गर्न पाएका छैनन् ।
कर्णालीमा राज्य निरिह भएको र निजी एयरलाइन्सको मनपरी बढेपछि जुम्लाबासीले सास्ती पाएको स्थानीय माधव चौलागाई बताउँछन् । मुलुकमा संघीयता आएपनि हवाई टिकटका लागि मारामार गर्नुपर्ने, नेताको पावर लगाउनु पर्ने विडम्बना कर्णालीमा रहेको उनको भनाइ छ । जुम्लासँगै मुगु, हुम्ला र डोल्पाका नागरिकले पनि हवाई टिकट सहजै पाउन सकेका छैनन् ।
जुम्लास्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जहाजको कमीले समस्या भएको बताए । जुम्लादेखि नेपालगन्ज दैनिक दुईदेखि तीन वटा उडान हुँदै आएको छ । जुम्लामा तारा, गोमा, सीता एयरले उडान भर्दै आएका छन् । उनले भने, “बिरामी र लोकसेवाको परीक्षा दिने विद्यार्थीलाई प्राथमिकता दिएर टिकट दिइरहेका छौं । जहाजको अभावले हवाई टिकट वितरणमा चुनौति आएको हो । माथिल्लो तहबाटै निर्णय भएर जहाज नथपेसम्म कुनै विकल्प छैन ।”
कर्णालीका अन्य जिल्लामा उडान पछिला केही समय सुर्खेतबाट शून्य रहेको छ । निजी विमान सबै पूर्वतिर गएका छन् । सुर्खेत जुम्ला हुम्ला, मुगु उडान शुन्य छ । हाल पयाप्त विमान नहुँदा कर्णालीमा समस्या भएको नागरिक उड्यन प्राधिकरण सुर्खेतका निमित्त प्रमुख प्रतिष्ठा आचार्यले जानकारी दिए ।
सडक अवरुद्ध र हवाई सेवामा सास्ती हुँदा दसैँ मनाउन घरमा पुगेका कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लाका विद्यार्थी, कर्मचारी र सर्वधारणलाई गन्तव्य फर्किन मुस्किल भएको छ । कर्णालीको हिमाली जिल्ला जोड्ने एकमात्र कर्णाली राजमार्ग अवरुद्ध हुँदा सयौ नागरिक अलपत्र परेका छन् ।
कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट सडकखण्डको पहिरो हटाउने प्रयास जारी रहेको सडक डिभिजन जुम्लाले जनाएको छ । सडक डिभिजन जुम्लाका प्रमुख राजिवश श्रेष्ठका अनुसार जुम्ला खण्डको ३३ किमिसहित ४० किमी पहिरो पन्छाउन बाँकी छ । कालिकोट, मुगु र जुम्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्