Logo

बुर्लाकोटीले फिर्ता लिए उम्मेदवारी

चार मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् ।
उनले सो क्षेत्रमा कांग्रेसका तर्फबाट उम्मेदवार हुने इच्छा व्यक्त गरे पनि पार्टीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्वनाथ पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उनले जीवनभर कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मेहनतका कारण कांग्रेसको उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको उल्लेख गर्दै पार्टीले आफूलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन–१ मा रहेको आफ्नो स्वतन्त्र उम्मेदवारी सोमबारकै मितिदेखि निष्क्रिय भएको घोषणा गरेका छन् ।
साथै बुर्लाकोटीले चितवन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गरेका छन् ।

चार कात्तिकसम्म उम्मेदवारी निष्क्रिय गर्न पाउने
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट विद्रोही उम्मेदवार बनेकालाई आगामी कात्तिक ४ गतेसम्म आफ्नो उम्मेदवारी निष्क्रिय गर्न पाउने व्यवस्था गरेको छ । कांग्रेसले सोमबार विज्ञप्तिमार्फत कात्तिक ४ गतेभित्र सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकउपरको कारबाही पार्टीले आवश्यक प्रक्रिया पुर्‍याई फुकुवा गर्ने जानकारी गराएको हो ।
त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरूपमा सक्रिय रहने प्रतिबद्धतासहित सार्वजनिकरूपमा वक्तव्य प्रकाशित गर्नुपर्नेछ ।
यसअघि कांग्रेसले निर्वाचनमा गठबन्धन दलहरूबीच सहमति भई बनेका कांग्रेसका र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिई यही असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकालाई पार्टीको सदस्यतासमेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो । साथै त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई समेत कांग्रेसको विधानबमोजिम निष्काशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्