Logo

अन्तरिक्ष सप्ताहका बेलामात्र अन्तरिक्षको चिन्ता र चासो बढ्नु राम्रो होइन, अन्य बेलामा पनि यसका बारेमा सबै चिन्तित हुनुपर्ने देखिन्छ ।

विश्व अन्तरिक्ष सप्ताहको सान्दर्भिकता

प्रत्येक वर्ष अक्टोबर ४ देखि १० सम्म विश्व अन्तरिक्ष सप्ताह मनाइन्छ । हुन त यो सप्ताह हाम्रो जस्तो देशका लागि त्यति अर्थपूर्ण छैन, तर पनि अन्तरिक्षसम्बन्धी क्रियाकलापका कारण हुने लाभ तथा हानिको भागेदार हामी पनि हुने हुँदा यसतर्फ चासो राख्नु सान्दर्भिक पनि देखिन्छ ।
अन्तरिक्ष अनुसन्धानमा सामेल व्यक्ति वा राष्ट्रको महŒवपूर्ण जिम्मेवारी नै अन्तरिक्षमाथि बढ्दै गएको मानवीय हस्तक्षेपलाई न्यून गर्नु रहेको छ । विभिन्न मानवीय क्रियाकलापका कारण अन्तरिक्षमा ठूलो सङ्कट पैदा हुने डर एकातिर छ भने अर्कातिर अन्तरिक्षको अस्तित्वका लागि एक दिन युद्ध हुने त होइन । यदि त्यसो हुन गएमा त्यसले मानव जगत् र पृथ्वीलाई ठूलो संकटमा पार्न सक्छ । त्यसैले वर्तमान तथा भावी पुस्ताले समेत अन्तरिक्षको शान्तिपूर्ण उपयोग गर्न पाउनुपर्छ र त्यसका लागि हामी सचेत हुनुपर्ने देखिन्छ ।
पृथ्वीबाट ४ अक्टुबर १९५७ मा पहिलो पटक अन्तरिक्षमा स्पुतनिक–१ नामक यान प्रक्षेपण गरिएको थियो । स्पुतनिक–१ पछि हालसम्म पटक–पटक विभिन्न यानहरू अन्तरिक्षमा प्रक्षेपण भइसकेका छन् । विभिन्न खोज–अनुसन्धान गर्न विभिन्न देशले उपग्रहहरू पनि प्रक्षेपण गरिरहेका छन् । त्यसबाट मानिसले सहज रूपमा सफलता प्राप्त गर्दै गएको पनि छ । सञ्चार, मौसम विज्ञान, वायुयान उडान, अन्तरिक्ष विज्ञान तथा अन्य अन्वेषणका क्षेत्रमा आधारित भएर विभिन्न उपग्रहहरू, यान, रकेट अन्तरिक्षमा पठाउने क्रम तीव्र रूमा बढेको छ ।
यस साहसिक अभियानलाई बढीभन्दा बढी व्यावहारिक प्रयोगमा जोडिएको पाइन्छ । त्यसैले, अन्तरिक्ष अनुसन्धान र अन्तरिक्षको उपयोगमा ज्यादा देशको सहभागिता बढेको छ । कैयन् विकासशील देशले आफ्ना विभिन्न आवश्यकता पूरा गर्नका लागि सञ्चार, मौसम पूर्वानुमान र पूर्व चेतावनी, आपत् व्यवस्थापन, कृषि, बैंकिङ, सडक यात्रा, समुद्र तथा हावाको चाप आदि सम्बन्धित क्षेत्रमा थप सूचना मिलोस् भनेर वा कार्यका लागि सहज होस् भनेर विभिन्न उपग्रहहरू प्रक्षेपण गरेका छन्, जसका कारण अन्तरिक्षको प्रयोग व्यापक क्षेत्रमा भएको देखिन्छ । भविष्यमा यसको सेवाक्षेत्र झन् बढ्ने देखिन्छ । पृथ्वीबाट प्रक्षेपण गरिएका अधिकांश उपग्रह पृथ्वीको तल्लो कक्षमा चक्कर काटिरहेका हुन्छन् । स्पुतनिक–१ पछि लगभग १० हजार उपग्रह प्रक्षेपण भइसकेका छन्, तर तीमध्ये करिब चार हजारमात्र कार्यमा सक्रिय रहेका छन् । पछिल्लो समयमा आएर केही देशले सैन्य उद्देश्यका लागि पनि उपग्रह प्रक्षेपण गरिरहेका छन् । अन्तरिक्षको उपयोग अन्तरिक्ष मिसाइल, अन्तरिक्ष लेजर आदिको परीक्षण गर्न पनि प्रयोग भइरहेको छ । परीक्षणपश्चात् त्यस्ता उपग्रह अन्तरिक्षमा नै नष्ट गरिने हुँदा त्यस्ता उपग्रह नष्ट भएर हजारौँ कणमा विभाजन हुने हुँदा र ती धूलोका कण अन्तरिक्षमा नै उपग्रहझैँ आफ्नो कक्षमा घुम्ने हुँदा त्यसबाट अन्तरिक्षको पर्यावरण दिनप्रतिदिन प्रदूषित बन्दै गइरहेको छ । त्यसैले अन्तरिक्षको वातावरण प्रदूषण नियन्त्रण गर्न एवम् अन्तरिक्ष सुरक्षाका लागि अन्तरिक्ष युगमा प्रवेश गरेका विश्वका सबै देशले विशेष ध्यान दिनुपर्ने देखिन्छ । अन्तरिक्षमा भएको यस प्रकारको क्रियाकलापबाट विश्वमा रहेका सबै चिजको अस्तित्वमाथि प्रश्न चिह्न खडा हुने देखिन्छ । एकातिर पृथ्वीको पर्यावरण दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ भने त्यसमा पनि मानिसको गतिविधिका कारण समग्र अन्तरिक्षको वातावरण पनि संकटमा पर्दै गएको छ । त्यसैले टुटफुट भएका उपग्रहका अवशेष वा अन्तरिक्षको त्यो फोहोर पृथ्वीको नजिकै कुनै उपग्रहमा ठक्कर खान पनि सक्छ । यसबाट हुने सम्भावित खतराको अन्त्यका लागि सबैले चिन्ता प्रकट गर्नुपर्ने देखिन्छ ।
त्यसैले प्रत्येक वर्ष ४ अक्टोबरबाट एक हप्तासम्म विश्व अन्तरिक्ष सप्ताह आयोजना गरी मनाइने गरिन्छ । यस वर्षको अन्तरिक्ष सप्ताहको नारा रहेको छ, ‘अन्तरिक्ष र दिगोपना’ । त्यसैले विश्व अन्तरिक्ष निकायले अन्तरिक्षको दिगोपनाका लागि संकेत गरेबाट यसको सही रूपमा प्रयोग हुनुपर्ने कुरामा जोड दिएको देखिन्छ । कुनै पनि उपग्रह वा स्पेसक्राफ्टको जीवनको समाप्तिपश्चात् त्यसले उत्पन्न गर्न सक्ने समस्यालाई ग्रेबयाई अर्बिट अर्थात् अन्त्यको कक्ष भनिने कुरा अन्तरिक्ष वैज्ञानिकहरूले बताएका छन् । जसले कुनै पनि ग्रहको अन्त्य पछि त्यसका अवशेषबाट हुन सक्ने खतराप्रति सबै सचेत हुनुपर्ने देखिन्छ । हरेक वर्ष लगभग २२ उपग्रह ग्रेबयाई अर्बिटका रूपमा स्थापित हुन पुग्छन् । विस्फोटपछि त्यस्ता उपग्रह पृथ्वीमा आउँदा पृथ्वीको वायुमण्डल बाहिर नै जल्ने हुँदा त्यसले पृथ्वीमा गम्भीर असर पार्न सक्ने देखिन्छ । फोहोर वा क्षतिग्रस्त उपग्रह अन्त्यको कक्षमा घुमिरहेका कारण तिनीहरूलाई सुरक्षित तवरले व्यवस्थापन गर्नु नै अन्तरिक्षसम्बन्धी खोजमा संलग्न राष्ट्रलाई थप चुनौती बनेको छ । विश्वका कुनै पनि नेता वा जिम्मेवार निकायले यसको सुरक्षाका लागि विशेष प्रयास गरेका पाइन्न । केवल अन्तरिक्ष सप्ताहका बेलामात्र अन्तरिक्षको चिन्ता र चासो बढ्नु राम्रो होइन, अन्य बेलामा पनि यसका बारेमा सबै चिन्तित हुनुपर्ने देखिन्छ । त्यसैले सबैले आ–आफ्नो तवरले जिम्मेवारी निर्वाह गर्ने र मापदण्ड पूरा गर्ने वा समझदारी कायम गर्ने हो भने अन्तरिक्षको सुरक्षा निश्चित रूपमा हुने देखिन्छ ।
त्यसैले अन्तरिक्ष सुरक्षामा सबैले चासो दिनुपर्ने देखिन्छ, जो अन्तरिक्षको खोजमा वर्षौंवर्षदेखि ग्रह, उपग्रह, यान आदि प्रक्षेपण गरिरहेका छन् र कीर्तिमानी कायम गर्दै छन् । साथै मानव समुदायको बृहत्तर हितका लागि अन्तरिक्षको व्यापक प्रयोग हुनु राम्रो हो, तर यसको प्रयोगबाट हुन सक्ने खतरामाथि पनि बेलैमा सचेत हुुनु जरुरी देखिन्छ । हामी सबै जाग्ने बेला आएको छ, अन्तरिक्षमा संकट आउन दिनु हुँदैन । यसमा व्यक्ति र राष्ट्रले आ–आफ्नो जिम्मेवारी हरतरहले पूरा गर्नुपर्ने देखिन्छ । विभिन्न सामाजिक आवश्यकता पूरा गर्न र मानव हितका लागि विभिन्न यान अन्तरिक्षमा छोड्ने गरिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्