माओवादीका मतदाताले अरूलाई मत दिन सहज छ ? नेताहरूको प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यले गठबन्धनमा आबद्ध दलहरूका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताए ।
सचिव आचार्यले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका दलहरूका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताए । उनले गठबन्धन गर्नु र एक दलका मतदाताले अर्को दलको चिन्हमा मतदान गर्नु राजनीतिक मामिला भएको टिप्पणी गरे ।
उनले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरू गुम्ने अवस्थामा पुगेपछि गठबन्धन गरिएको भन्दै गठबन्धनका दलहरूको चुनाव चिन्हमा भोट हाल्नका लागि आफूहरूले आह्वान गर्ने बताए । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले अर्को पार्टीको उम्मेदवारलाई किन भोट हाल्ने र यसको राजनीतिक उद्देश्य के हो भन्ने सम्बन्धमा जनतालाई प्रष्ट पार्ने उल्लेख गरे । उनले नेता कार्यकर्ताहरूले हँसियाहथौडा बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दिन भनेर हालसम्म नभनेको जिकिर गरे । उनले भने, ‘यो राजनीतिक मामिला हो । हामीले हँसियाहथौडामा भोट हालेका मान्छेलाई कलम, रुख अथवा अरु चिन्हमा भोट हाल्न अपm्ठ्यारो त होला तर पनि यो त राजनीतिक लडाइँ हो । आखिर यस खालको मोर्चाबन्दी जुन बनेको छ, निश्चित राजनीतिक उद्देश्यको निम्ति बनेको छ । यसखालको मोर्चाबन्दी बन्नुको पछाडी प्राप्त उपलब्धीहरू गुम्ने अवस्थामा पुगिसकेपछि हामीले काँग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेका हौँ । त्यही गठबन्धनको निरन्तरतामा प्रतिगामी शक्तिहरूको बिरुद्धमा जुन गठबन्धन बनेको छ, यसको पक्षमा हामीले रुख, कलम, गिलास अथवा अरु कुनै चिन्हमा जहाँ हाम्रो गठबन्धन हुन्छ त्यसमा भोट हाल्नको निम्ति हामीले हाम्रा कार्यकर्ताहरूलाई आह्वान गर्छौं । जनताको तहमा गएर हामी यसरी भोट किन हाल्ने ? यसको राजनीतिक उद्देश्य के हो भन्ने कुरामा प्रष्ट पार्दै जान्छौँ । हाल्दैनौँ भनेर त्यस्तो घोषणा गरेको अवस्था त छैन । केही कन्फ्युजनहरू त छन् । तर चुनावको छलफल, वहसको दौरानमा हामी यो सबै कुराहरूलाई क्लियर पारेर लैजान्छौँ ।’
त्यस्तै नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले प्रतिगमनका बिरुद्ध अग्रगामीहरूको विचार, उद्देश्य र नीतिसहितको गठबन्धन भएकाले एकअर्कालाई भोट हाल्ने बताए । जहाँ जुन पार्टीको उम्मेदवार भएपनि निर्धक्कसँग भोट हाल्न पार्टीले आह्वान गर्ने उहाँको भनाइ छ । उनले जुन पार्टीको भएपनि गठबन्धनको उम्मेदवार आफूहरूको उम्मेदवार हुने स्पष्ट पारे । समानुपातिकमा भने आ–आफ्नो पार्टीलाई मत मागिने उनले बताए । उनले भने, ‘कलम र रुखमा भोट भोट हाल्ने भन्नेकुरो मुद्दाको आधारमा हो । प्रतिगमनको बिरुद्ध अग्रगामीहरूको यो गठबन्धन हो । गठबन्धन एउटा विचारसहितको, उद्देश्य, नीति कार्यक्रम सहितको भएको हुनाले गठबन्धनमा आवद्ध जति दलहरू छन् । जो–जो, जहाँ उम्मेदवार परेका छन्, त्यहाँ हामी निर्धक्कसँग भोट हाल्नुहोस् भनेर हामीले आह्वान गर्छौं जनतालाई । जनताले मान्छन् । किनभने हामी घर–घरमा जान्छौँ । कन्भिन्स गर्छौं । कार्यकर्तालाई कन्भिन्स गर्छौं । यो प्रतिगमन बिरोधी गठबन्धन हो । प्रतिगमनलाई पराजित गरेर देशमा स्थिरता कायम नगरीकन विकास र समृद्धिले गति नलिने भयो । यो आधारमा हामीले जनतालाई कन्भिन्स गर्छौं र भोट हाल्न आह्वान गर्छौं । गठबन्धन भएको ठाउँमा नै अहिले हाम्रो उम्मेदवार हो । गठबन्धनका उम्मेदवार जहाँ–जहाँ, जो–जो छन् ति अर्को र हाम्रा भन्ने कुरा भएन । त्यो हाम्रो हो । समानुपातिकमा आ–आफ्ना पार्टीका मत माग्ने कुरा छँदैछ । त्यसमा हामी आ–आफ्नो चुनाव चिन्हमा हाल्नुहोस् भनेर भन्छौँ । गठबन्धनमा जहाँ–जहाँ उम्मेदवार परेका छन् । त्यो हाम्रै उम्मेदवार भनेर बुझ्नुपर्छ हामीले ।’
माओवादी केन्द्र सम्पर्क समन्वय विशेष प्रदेश समिति सदस्य रामप्रसाद न्यौपाने अर्को दलको चुनावचिन्हमा मतदान गर्नु बाध्यता भएको बताए । उनले गठबन्धका उम्मेदवारहरू देशको आवश्यकताले उठाइएको भन्दै एकअर्कालाई मतदान गर्नुपर्ने बताए । चाहना नभए पनि गठबन्धनको उम्मेदवारलाई मतदान गर्नु आवश्यकता र बाध्यता भएको उनको भनाइ छ । उनले भने, ‘पार्टीको सिद्धान्त आ–आफ्नो ठाउँमा छ । राष्ट्रिय रक्षा, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाको निम्ति गठबन्धन गरेको कारणले गर्दाखेरी गठबन्धनका साझा उम्मेदवारहरू उठाइएको छ । ती गठबन्धनका साझा उम्मेदवारहरू अहिलेको आवश्यकता अनुसार एक अर्कालाई मतदान गर्नुपर्ने छ । यो अहिलेको आवश्यकता हो । खुशी नहुँदा नहुँदै पनि, चाहना नहुँदा नहुँदै पनि वर्तमान परिस्थिति र समयलाई ध्यानमा राखेर यो अवस्थामा जान बाध्यता हो । गठबन्धनको आवश्यकता र बाध्यता हो भनेर हामीले बुझेका छौँ ।’