सडक मर्मत नहुँदा खच्चडकै सहारा

जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्नका लागि खच्चडकै सहारा लिनुपरेको छ । हप्ता दिन आएको अविरल वर्षाका कारण ठूलो मात्रामा क्षति भएपछि यहाँ ग्रामीण क्षेत्रमा रहेका सडक मर्मत गरिएका छैनन् ।
जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या देखिएको छ । सडकहरू ठाउँठाउँमा भत्किएका कारण पैदल यात्रा गर्नसमेत मुस्किल हुँदै गएको छ । तत्काल सडक सुचारु गर्नका लागि नदीहरूमा पानीको मात्रा कम नभएकाले डोजर लानसक्ने अवस्थासमेत नरहेको बताइएको छ ।
भेरी करिडोरबाट जाजरकोट–जुम्ला जोड्ने सडकहरू कालिमाटी–बारेकोट, खलंगा–कुशे र बारेकोट, पश्चिम छेडाबजार जुनिचाँदे जोड्ने सडकमा समेत समस्या आएको छ । यी सबै ठाउँमा घोडा, खच्चड र स्थानीयबासी आफैले बोकेर सामग्री लिनुको अर्को विकल्प नभएको सर्वसाधारण बताउँछन् । सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत महँगिएको छ ।
बाटो अवरुद्ध भएसँगै निर्माण सामग्री लिनसमेत समस्या भएको छ । बारेकोट गाउँपालिकाको बीचमा रहेको नलगाड नदीमा पुल नहुँदा सबै भन्दा बढी बारेकोट गाउँपालिकामा खच्चडकै भरमा विभिन्न सामग्री लिनु परेको नायकबाडाका प्रेम शाहीले बताए । तिहार नजिकिँदै गर्दा गाडीमा गाउँगाउँमा पुग्ने सर्वसाधारणको सपना पूरा नहुने भएको छ ।