Logo

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्

रोल्पाका ग्रामीण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएका अधिकांश सडक खुलेका छैनन् । सडकको माथि र मुनिबाट पहिरो खसेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिँडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९ का दलबहादुर खत्रीले बताए । “वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ,” खत्रीले भने ।
पहिरो नखसेको ठाउँसमेतमा सडक चिरा चिरा परेर आवातजावतमा कठिनाइ भएको बताइएको छ । सडकमा पहिरो खसेकाले दसैं मनाउन घर जाँदा सारै सास्ती भोग्नुपरेको परिवर्तन गाउँपालिकाका लोकेन्द्र चन्दले दुखेसो पोखे । “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ सबै हिँडेर जानुपर्ने बाध्यता छ,” चन्दले भने । जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भए तापनि मापदण्डविपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध भएका हुन् ।
सम्बन्धित निकायले ध्यान नदिँदा यात्रु भए पनि सवारी चलाउन मुस्किल भएको यातायात व्यवसायीले गुनासो गरेका छन् । मापदण्डविपरीतका सडक खन्दा वर्षायाममा बाढी पहिरो जाने गरेको स्थानीयवासीको भनाइ छ । वर्षा सकिएर चाडवाडको समय सुरु भए पनि गाउँँगाउँँ पुग्ने सडक नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।
रोल्पाको सदरमुकाम लिवाङदेखि सहिद मार्ग हुँदै थवाङ जाने सडक खण्ड र सनिलस्मृति गाउँपालिकाको सुलिचौर हँुदै सुनछहरी गाउँपालिका जाने सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । एक नगरपालिका र नौ गाउँँपालिका रहेको रोल्पामा ७२ वडा छन् ।

प्रतिक्रिया दिनुहोस्