Logo

दोर्दी ‘ए’ जलविद्युत आयोजना परिक्षण उत्पादन सुरु

लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको परिक्षण उत्पादन भएको छ । लिबर्टी इनर्जीद्वारा निर्माण भएको सो आयोजना निर्माण कार्य सकिएसँगै परिक्षण उत्पादन भएको हो ।
केही साताअघि निर्माण सम्पन्न सो जलविद्युत आयोजनामा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूको निरिक्षणसँगै परिक्षण उत्पादन भएको हो । दुईवटा टर्बाइन रहेको सो जलविद्युत आयोजनामा पहिलो दिन एउटा र दोस्रो दिन दोस्रो टर्बाईनबाट विद्युत उत्पादन गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । उत्पादित विद्युत दोर्दीकै कीर्तिपुरस्थित सबस्टेसनमार्फत १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिएको छ । परिक्षण उत्पादन सकिएको र प्राधिकरणको स्वीकृतिपछि आयोजनाले व्यावसायिक विद्युत उत्पादन गर्ने प्रवद्र्धक वस्तीले बताए ।
लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको थियो । सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम अघिल्लो वर्षनै सम्पन्न भइसकेको थियो । तर गत वर्ष दोर्दी खोलामा आएको बाढीका कारण आयोजनामा क्षति पुगेपछि निर्माण अवधि पुन: लम्बिएको थियो ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटकपटक बाढीका कारण निर्माण अवधि लम्बिँदै आएको हो । आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत गृहमा पुर्‍याई विद्युत उत्पादन सुरु भएको छ ।
रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरि प्रवद्र्धक कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

प्रतिक्रिया दिनुहोस्