Logo

आर्चरीमा गण्डकी टीम च्याम्पीयन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।
बुधवार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जितेसँगै समग्रमा गण्डकी आर्चरीमा च्याम्प्यिन भएको हो । गण्डकीलाई स्वर्ण दिलाउने क्रममा गंगाबहादुरले विभागीय टोली पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् ।
यस्तै बुधबार नै भएको रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काश्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् ।
कम्पाउण्ड पुरुष व्यक्तिगततर्फ गण्डकीकै जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् ।
कम्पाउण्ड महिला व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् ।
स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । र्‍याङ्किङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । बागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए ।
स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सीमित भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् ।
यससँगै आर्चरीमा बुधबार ६ स्वर्ण टुङ्गो लागेको हो । यस अघि मंगलवार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । आर्चरीमा मधेस र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउन्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टिम र मिक्समा प्रतिस्पर्धा गराइएको थियो ।
कूल १३ प्रतिष्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो । नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौं, सुदूरपश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपि, सबै टिमले सबै विधामा सहभागिता भने जनाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्