Logo

साइक्लिङमा विभागीय खेलाडीको वर्चस्व

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा बुधबार सम्पन्न भएका छन् ।
साइक्लिङका ४ विधामा पुरुष र महिला गरी ८ स्वर्ण पदकका लागि प्रतिष्पर्धा भएको थियो । जसअन्तर्गत त्रिभुवन आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, वागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र वागमतीले १ पदक जितेको छ । कास्य पदकतर्फ भने एपिएफले ४, आर्मीले ३ र गण्डकीले १ पदक जित्न सफल भएको छ ।
विधागततर्फ पुरुष महिला गरी नेपाल आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ । त्यस्तै वागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन् ।
पोखराको याम्दी–हेम्जा सडकखण्डमा बुधवार भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दूरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पूरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् । त्यस्तै उक्त दूरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेन्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ८६१ मिलिसेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।
बुधबार नै महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दूरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् । त्यस्तै एपिएफकी हुमी बुढामगरले उक्त दूरी १ घण्टा २५ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् । त्यसैगरी १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्काले कास्य पदक जितेकी छन् ।

प्रतिक्रिया दिनुहोस्