Logo

सर्लाहीको सहकारीमा लुटपाट प्रयास

सर्लाहीको एक वित्तीय संस्थामा हतियार देखाएर लुटपाटको प्रयास भएको छ । बागमती नगरपालिका–१ मिलन चौकमा सञ्चालित सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्रमा हतियार देखाएर लुटपाटको प्रयास भएको हो ।
बुधबार बिहान १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार भएर आएका तीन जनाको समूहले कार्यालयभित्रै पसेर नगद लुटपाट गर्न खोज्दा सेवा केन्द्रमा कार्यरत कर्मचारीले प्रतिकार गर्दा उनीमाथि लुटेराले ४ वटा गोली प्रहार गरेका छन् ।
अज्ञात समूहको गोली प्रहारबाट हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको बागमती सेवा केन्द्रमा कार्यरत ३० वर्षिय साजन कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रतिकार गर्नेबित्तिकै लुटेरा समूहले आफूमाथि ४ गोली प्रहार गरेको घाइते कार्कीले बताए । गोली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा चढेर दक्षिणतर्फ भागेका छन् । लुटेरा समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा यकिन भइनसकेको सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।
तिघ्रा, कुम, ढाड र कोखामा गोली लागेका घाइते कार्कीको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता विजय कुमार यादवले जानकारी दिए । लुटपाटमा संलग्न व्यक्तिले कार्कीको साथमा रहेको कालो झोला बोकेर भागेका छन् । गोली प्रहार गर्नेहरूको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएको भदौ १० मा पनि गोडैता नगरपालिका वडा नं. ८ स्थित सिसौटिया रोडमा लालिगुराँस बहुउदेश्यीय कृषि सहकारी संस्थाले संचालन गरेको सिटी एक्सप्रेसबाट २ वटा मोटरसाइकलमा सवार ४ जना अज्ञात व्यक्तिले हतियार देखाएर ल्यापटप, मोबाईल सहित ९ लाख ५० हजार बराबरको नगद लुटपाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्