विकास बजेट खर्च भए पाँच लाख रोजगारी सजिलै सिर्जना हुने «

विकास बजेट खर्च भए पाँच लाख रोजगारी सजिलै सिर्जना हुने

अर्थमन्त्री डा. युवराज खतिवडाले पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न कुनै ठूलो कुरा नभएको बताएका छन् ।
नीतिमूलक अनुसन्धान तथा विकास संस्थाले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको आगामी आर्थिक बर्षको बजेटबारे छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको तथा बजेट दुरुपयोग भएको गुनासो प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गरीरहेको बेला अर्थमन्त्री खतिवडाले तीनै तहका सरकारको विकास बजेट खर्च गर्ने क्षमता बढाउन सके पाँच बर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न कुनै ठूलो कुरा नभएको बताएका हुन् । संघ, प्रदेश र स्थानीय तहको संरचनालाई प्रभावकारी बनाउदै कर्मचारी भर्ना प्रकियालाई चाडो टुङगाएर विकासको एजेन्डालाई अगाडी बढाउन सके आर्थिक वृद्धि हासलि हुने र त्यसले रोजगारी सिर्जनामा सहयोग पुग्ने उनको तर्क छ ।
तर चालु आर्थिक वर्षमा ५ हप्ता बाँकी हुँदासम्म ५० प्रतिशत विकास खर्च भएको छैन । तसर्थ आगामी आर्थिक वर्षमा पनि ४ खर्ब ८ अर्ब विकास खर्च सबै हुन कुनै चमत्कार हुनु पर्दछ किनकि न त सरकारको खर्च गर्ने क्षमता बढेको छ न त कर्मचारीतन्त्रको क्षमता बढेको छ । चालु आर्थिक वर्षको कूल विकास बजेट ३ खर्ब १३ अर्बमा विहीबारसम्म सरकारले जम्मा ४५.६० प्रतिशत अर्थात १ खर्ब ४४ अर्बमात्र खर्च गर्न सकेको छ । चालू आव सकिन ३६ दिनमात्र बाँकी छ । यस हिसाबले सरकारले ३६ दिनमा प्रति दिन करिब ४५ अर्ब खर्च गर्नु पर्दछ ।
सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यमा रोजगारीको अवसर सिर्जना गरी आगामी पाँच वर्षभित्र कुनै पनि नेपाली नागरिकले बाध्यकारी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थिथो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न चालु आवको बजेटमा तीन अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने आगामी आर्थिक बर्षको लागि ५ अर्ब एक करोड रुपैयाँ प्रस्ताव गरेको छ । अर्थमन्त्री खतिवडाले चुनावका बेला जनप्रतिनिधिले घोषणा गरेका प्रतिवद्धता जनचाहना अनुसार पूरा गर्न नसकेकाले पनि जनतामा निरासा छाएको पनि बताए । उनले जनतालाई घोषणा गरेका प्रतिवद्धता जिम्मेवारी पूर्वक पूरा गर्न सोच्नु पर्ने सबैको ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवंम छायाँ अर्थमन्त्री मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । उनले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्