अडिटमा कुनै कमजोरी नदेखिएकाले नेपाली आकाश सुरक्षित
हवाई सुरक्षा परिपालनमा नेपाल अब्बल

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दरमा ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आईकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो ।
आईकाओको १० सदस्यीय टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको जानकारी दिँदै पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले एसिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए ।
आईकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताउँदै उनले आईकाओको प्रतिवेदनले औंल्याएका कमीकमजोरी निर्मूल गर्न प्राधिकरणले गृहकार्य शुरु गरेको जानकारी पनि दिए । प्रमुख श्रेष्ठले नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई सेवा विस्तारको लागि थप योजना पनि अघि सारेको बताउँदै आईकाओको टोलीले बृहत् अडिटको लागि ७९० प्रश्न समेटेको जानकारी गराएका थिए ।
श्रेष्ठले आईकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने उद्देश्यले काम गरिरहेको पनि बताए । उनले आईकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको भन्दै प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेटको व्यवस्था गर्न शुरु गरेको जनाए । उनले आईकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको स्पष्ट पारे ।
त्यस्तै, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आईकाओको अडिटले देखाएको सुरक्षा मापन दर एसिया प्रशान्त क्षेत्रमा नै नेपालको उच्च रहेको जानकारी दिए । उनले एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गर्दै नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको तथा अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आईकाओले कालोसूचीमा राख्न नहुने पनि बताए ।
नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय हाराहारी विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग शुरु गरिएको छ भने फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्वद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको पनि प्राधिकरणले जनाएको छ ।
यसैबीच, अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्ने भएको छ । नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभीएसन एडमिनिस्ट्रेसनको एक मिसनले नेपालको हवाई सुरक्षाको अवस्थाबारे बिहीबारबाट अध्ययन थाल्न लागेको महानिर्देशक अधिकारीले जनाए । उनका अनुसार यो मिसनले आईकाओले हेर्ने गरेका विभिन्न ८ क्षेत्रहरुमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्नेछ ।
नेपालमा यस वर्ष बहुर्राष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । आईकाओबाट भएको पूर्ण अडिटपछि युरोपेली युनियनको मिसनले पनि नेपालमा हवाई सुरक्षा र यसमा हुनुपर्ने परिपालनाका विषयहरुको अध्ययन गरेको छ । यो मिसनको प्रतिक्रियाबाट उत्साहित भएको प्राधिकरणको नेतृत्व आगामी वर्ष कालोसूचीबाट हट्ने अपेक्षा गरेको छ ।
अधिकारीका अनुसार मंगलबारमात्र विश्व बैंकको एक टोलीले नेपालको प्राधिकरण र हवाई उद्योगसँग सम्बन्धित अधिकृतसँग पनि छलफल गरेको छ । विश्व बैंकको टोलीले नेपालमा सुरक्षा अभिवृद्धिमा दक्ष जनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको जानकारी दिँदै अधिकारीले अमेरिकी नियामक निकायको अडिटले समेत नेपालको हवाई सुरक्षा विश्वसनीय रहेको सन्देश प्रवाह हुने बताए ।