Logo

सत्ता गठबन्धनलाई बहुमत दिलाउन शीर्ष नेताको आह्वान

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थायी शान्ति र लोकतन्त्रका लागि सत्ता गठबन्धनलाई बहुमत दिलाउन आग्रह गरे ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरे । ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।
गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसंग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले भने, “संसद् बचाउन यो गठबन्धन बनेको हो, यो राम्रोसँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।”
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भंग गरेको प्रसंग उल्लेख गर्दै उनले जनताले चुनेको संसद् मन लाग्यो भन्दैमा लहडमा भंग गर्न नपाइने बताए । यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उनले जानकारी गराए ।
लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारे । उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए । संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । “गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो । हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ,” उनले भने ।
जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो । “वाम र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको लामो परम्परा छ । विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो,” उनले भने ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताए । उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।
निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताए । उनले भने, “यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।”
अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्