एथ्लेटिक्समा ३२ वर्ष पुरानो रेकर्ड तोडियो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा करिब ३२ वर्ष पुरानो रेकर्ड ब्रेक भएको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले ३२ वर्ष पुरानो रेकर्ड तोड्दै स्वर्ण पदक जितेका छन् ।
उनले निर्धारित दुरी ४७:९५ सेकेन्डमा पार गर्दै रेकर्ड ब्रेक गरेका हुन् । उनले सन् १९९० मा चीनको वेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका थिए । चौधरीले ४८:३२ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान कायम गरेका थिए ।
यसैबीच, ४ सय मिटर दौडमा अर्को समेत नयाँ कीर्तिमान कायम भएको छ । त्रिभुवन आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै कास्य पदक जिते । महिलातर्फ एपीएफकी रमिता कुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खुल्लामा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डमा पुरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।
सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते । आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गर्दै काँस्य पदक जिते । आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जिते ।
म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन् । अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए । त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते । उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गरे ।