Logo

हवाई उडानको अनियमितता रोक्न अनलाइन टिकट

वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।
मंगलबार कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिवद्धता जनाएको हो ।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिवद्धता जनाए । उनले विमानस्थलहरुमा अलपत्र परेका यात्रुहरुलाई कर्णाली प्रदेशमा हुम्मा,जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताए ।
थापाले कर्णालीको हवाई उडान समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले सहकार्य गर्नुपर्ने बताए । उनले सरकारले कर्णालीका विमानस्थलहरुमा अलपत्र नागरिकहरुको उद्धारको लागि नेपाल एयरलाइन्स र नेपाली सेनाको जहाज प्रयोग गर्नुपर्ने बताए । उनले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि बताए ।
कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अविरल वर्षाको कारण कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा हवाई उडान प्रभावित भएर यात्रुहरु अलपत्र हुँदा मानवीय संकट आउने अवस्था सिर्जना भएको बताए । उनले वर्षको कारण सडक मार्गसमेत अवरुद्ध भइ उडान चाप बढेको बताए ।
भण्डारीले हवाई यात्रुहरुको चाप अत्याधिक भएको अवस्थामासमेत हवाई उडान कम्पनीहरुको उडान कटौती गरेको बताए । उनले कर्णालीका विमानस्थलहरुमा अलपत्र परेका हवाई यात्रुलाई तत्काल उद्धार गर्नको लागि नेपाल वायुसेवा सञ्चालक संघसँग माग गरिएको बताए ।
भण्डारी नेतृत्वको टोलीले मंगलबारै पर्यटन मन्त्रीलाई भेटेर कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेको थियो । केही दिन अघिको वर्षाका कारण सडक बाटोको सञ्जाल, विद्युत र टेलिफोन सेवासमेत अवरुद्ध भएपछि अहिले कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला र कालीकोट लगायतका जिल्ला सम्पर्क विच्छेद छन् ।

प्रतिक्रिया दिनुहोस्